शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आश्वासनले धोका पाएको सिन्धुलीका मतदाता : अब नारा होइन काम खोज्दै

शुक्रवार , माघ २३, २०८२

सिन्धुली, २३ माघ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद्धता र संकल्प पत्रहरु लिएर दल तथा उम्मेदवारहरु मतदाताको घरदैलो धाइरहेका छन् ।

आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उम्मेदवार र दलहरुलाई यसअघिका निर्वाचनमा जस्तो सहज भने छैन । मतदातामा चेतनाको विकास र सामाजिक सञ्जाल लगायत क्षेत्रमा भएको विकासले उम्मेदवार र दललाई जवाफदेही बनाउने छन् । पटकपटक आश्वासनमा मतदान गरेका मतदाता यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उम्मेदवारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन् ।

फिक्कल गाउँपालिका–२ की ७३ वर्षीय बिष्णुमायाँ सार्कीले जनताका आधारभूत आवश्यकता पूरा गर्ने नेतालाई जिताउनुपर्ने बताइन । यसअघिका नेताले आश्वासन मात्रै दिएको उनको गुनासो छ । चुनावका बेला गरेको बाचा चुनाव सकिएपछि बिर्सिने गरेको उनले बताइन ।

“हामीले पटकपटक जितायौँ, उनीहरुले पद पाए, आफ्नालाई जागिर खुवाए, हामीलाई निराशा बाहेक अरु के दिए ?, यसपटक प्रतिबद्धता मात्रै होइन कामको योजनासहित आउने उम्मेदवारलाई मत दिने योजनामा छु”, उनले भनिन, “आश्वासन पहिला पाइएको हो, अहिले उही त्यहीँ त होला, हामी सोझा साझा जनता जहिले मारमा मात्रै छौँ ।”

सुनकोशी गाउँपालिका–५ का पुर्ण बहादुर बसेलले किसानका समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताए । ग्रामीण सडक बाह्रै महिना सञ्चालन नहुँदा किसानले उत्पादन गरेको वस्तु नष्ट हुने गरेको भन्दै चुनावका बेला धेरै नेताले झुटा आशा मात्रै दिएको उनले गुनासो पोखे । बिकासका नाममा गाउँमा खनिएका कच्ची सडकले गाउँलेहरूको ज्यान मात्र लिइरहेको भन्दै यसको समाधान कुनै पनि नेताले अहिलेसम्म गर्न नसकेको उन्को भनाई छ ।

उनले भने, “बहुदल आएपछि हामीलाई नेताहरुले पटकपटक झुक्याएर भोट लगे, चुनाव जितेर गएपछि एक पनि गाउँमा फर्किएर आएनन्, गाउँमा कति धेरै समस्या छन्, समस्या समाधान गर्न कुनै पनि नेताले सकेनन्, यस क्षेत्रका जनता सधैँ भोट दिने मात्रै भयौँ ।”

घ्याङलेक गाउँपालिका–५ का कमल श्रेष्ठले दुर्गम गाउँमा विकास गर्ने नेता अहिलेसम्म नपाएको बताए । गाउँका नागरिकले आधारभूत सेवा पाउनबाट वञ्चित रहेको भन्दै चुनाव जितेपछि उनीहरुको समस्या बुझेर काम गर्ने नेताको आवश्यकता भएको श्रेष्ठले सुनाए । धेरैको नजर सहर बजारमा मात्रै पर्दा धेरै दुर्गम बस्तीहरु ओझेलमै परेको उनको भनाइ छ ।

“सहर बजारमा त विकास भएको छ, तर गाउँमा भौगोलिक विकटतासँग विकासले ठगेको छ, धेरै नेतालाई जिताएर पठायौँ, उनीहरुको नजर यो क्षेत्रमा परेन”, श्रेष्ठले भने, “सही नेता छन्न नसक्नु हामी जनताको कमजोरी होकी ?, सुरुमा त सबैले यो गर्छु, त्यो गर्छु भन्छन्, गर्लान् भन्ने त हुन्छ तर चुनावपछि नेता नै हराउँछन् ।”

यसपटकको निर्वाचनमा मतदाताहरूको आक्रोश र आशा दुबै देखिन्छ । पुराना दल र नेताहरू प्रति मतदाताको आक्रोश देखिन्छ किनभने उनिहरूले गरेका पुराना प्रतिबद्वता र आश्वाशन नागरिकले उपभोग गर्न पाएका छैन्न । नयाँ उम्मेद्वार र दलसँग आशा भएपनि बिश्वास गर्ने आधार मतदाताले भेटेका छैन्न । मरिण गाउँपालिका–६ कि ४५ बर्षिय निरामायाँ मगरले जनताको जिन्दगी आशै आशमा बितेको बताइन । उनले भनिन, “चुनाब आउदै पिच्छे नयाँ नयाँ लहर आउँछ, यस्ले गर्छकी, उस्ले गर्छकी भन्दै भोट दियो, सबै उस्तै छन जनताका समस्या कोहि हेर्दैन ।”

२०६४ देखि लगातार चुनाबमा मतदान गरेकी मगरले अब जनता जुन जोगी आएपनि कानै चिरेका भन्ने अवस्थामा पुगिसकेको बताइन ।

सिन्धुलीमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर मतदाताको मनोदशा बदलिँदो देखिन्छ। पटक–पटक आश्वासनमा ठगिएको अनुभूति गरेका मतदाता यसपटक भावनाभन्दा व्यवहारिक योजना र काम गर्ने क्षमताका आधारमा उम्मेदवार छनोट गर्न चाहन्छन् । पुराना दल र नेताप्रति आक्रोश बढ्दो छ भने नयाँ उम्मेदवारप्रति आशा भए पनि विश्वास अझै निर्माण हुन सकेको छैन । यस अवस्थाले आगामी निर्वाचनमा मतदाताले कडा प्रश्न गर्ने र परिणाम मार्फत् सन्देश दिने संकेत गरेको छ । अब चुनावी नारा होइन, जनजीवन बदल्ने ठोस काम नै मतदाताको पहिलो प्राथमिकता बनेको छ ।

प्रतिक्रिया