सिन्धुली,२३ माघ — सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५ स्थित सहिदगेट–अमारे कृषि भित्री सडक खण्डको खहरे गाउँमा बिहिवारर साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । अमारेबाट गाउँखर्कतर्फ कुलपूजाका लागि जाँदै गरेको बोलेरो जीप अनियन्त्रित भई करिब दुई सय मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहिवार अपराह्न करिब ५ बजेर ४५ मिनेटको समयमा म.प्र.०३–००१ च ८५०० नम्बरको सिंगल क्याप बोलेरो जीप सहिदगेट अमारे कृषि भित्री सडक खण्डमा दुर्घटनामा परेको हो । उकालो–ओरालो र साँघुरो सडकमा तीव्र गतिका कारण जीप चालकको नियन्त्रण गुमेपछि सवारी साधन सडकबाट खस्दै तलको खोल्सामा पुगेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
दुर्घटनामा परी जीपमा सवार १५ जना घाइते भएका थिए । घाइतेहरूलाई स्थानीय बासिन्दा, सुरक्षाकर्मी र एम्बुलेन्सको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो । गम्भीर घाइतेमध्ये सुनकोशी गाउँपालिका–६ निवासी रामकृष्ण स्यवा भन्ने वर्ष ३३ का रामकृष्ण नेपाली (स्यवा) लाई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो ।
सिन्धुली प्रहरीका अनुसार चिकित्सकहरूको प्रयासका बाबजुद बिहिबार राती करिब ११ बजेर १५ मिनेटको समयमा उनलाई मृत घोषणा गरिएको हो ।
अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरूको स्थानीय आत्मिय अस्पताल खाल्टे र क्ष् धुलीखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।