शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा बोलेरो दुर्घटना, १५ जना घाइते

बिहिवार , माघ २२, २०८२

सिन्धुली,२२ माघ – सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५ स्थित खहरे गाउँमा रहेको सहिदगेट–अमारे भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कुलपूजाका लागि अमारेबाट गाउँखर्कतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ८५०० नम्बरको सिंगल क्याब बोलेरो बिहिबार साँझ करिब ५ः४५ बजे अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।

दुर्घटनामा परेको बोलेरो २५ वर्षीय मनोज नेपालीले चलाइरहेका थिए । दुर्घटनाका क्रममा गाडीमा सवार सबै यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि खुर्कोटतर्फ पठाइएको थियो ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलको कमाण्डमा १० जनाको टोली र प्रहरी चौकी रातामाटाबाट प्रहरी सहायक निरीक्षक टेमप्रसाद तिमल्सिनाको नेतृत्वमा ४ जनाको टोली खटिएको थियो । प्रहरीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेको सवारी साधन हाल घटनास्थलमै रहेको छ । पछिल्लो अपडेटअनुसार दुर्घटनामा घाइते भएका १५ जनाको खाल्टे स्थित आत्मीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया