शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली–१ : बदलिँदो राजनीतिक समीकरण र तीन धारको प्रतिस्पर्धा

बिहिवार , माघ २२, २०८२

सिन्धुली,२२ माघ – लामो समयसम्म नेकपा एमालेको बलियो आधार क्षेत्रका रूपमा चिनिँदै आएको सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ फेरि एकपटक तीव्र चुनावी चासोको केन्द्र बनेको छ । करिब तीन दशकसम्म एउटै दलको वर्चस्व देखिएको यस क्षेत्रमा अबको निर्वाचन पुरानै लयमा अघि बढ्छ कि नयाँ राजनीतिक मोड लिन्छ भन्ने प्रश्नले स्थानीयदेखि राष्ट्रिय राजनीतिसम्म तरंग पैदा गरेको छ । कांग्रेसको पुनरागमन, वाम धारभित्रको विभाजन र नयाँ राजनीतिक शक्तिको उदयले यसपटकको प्रतिस्पर्धालाई अघिल्ला चुनावभन्दा फरक र रोचक बनाइदिएको छ ।

इतिहास हेर्दा २०४८ सालदेखि २०७४ सालसम्म सिन्धुली–१ मा एमालेले निरन्तर विजय हासिल गर्दै आएको थियो । मदन ढुंगेल, गंगाप्रसाद नेपाल, विषमलाल अधिकारी र गणेशकुमार पहाडीले फरक–फरक समयमा एमालेको विरासत जोगाउँदै आए । यी लगातारका नतिजाले सिन्धुली–१ लाई एमालेको ‘आधार किल्ला’का रूपमा स्थापित गरिदिएको थियो । तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनले यो धारणा भत्काइदियो । पाँचदलीय गठबन्धनको बलमा काँग्रेसले यहाँ जित निकाल्दै २८ वर्षपछि एमालेको किल्लामा प्रवेश ग¥यो ।

२०७४ सालको निर्वाचनमा एमालेका गणेशकुमार पहाडीले ३२ हजार ५२९ मत ल्याएर जित्दा कांग्रेसका प्रेमचन्द्र दाहाल २२ हजार ३८९ मतमा सीमित भएका थिए । तर २०७९ मा तस्वीर उल्टियो । पाँचदलीय गठबन्धनको बलमा काँग्रेसका श्यामकुमार घिमिरेले ३० हजार ३९१ मतसहित विजय हासिल गर्दा एमालेका प्रदीपकुमार कटुवाल २५ हजार ५४६ मतमै रोकिए । दुई उम्मेदवारबीचको मतान्तर ४ हजार ८४५ मात्र हुनु नै सिन्धुली–१ कति प्रतिस्पर्धात्मक क्षेत्र हो भन्ने प्रमाण हो ।

स्थानीय तह निर्वाचन २०७९ का नतिजाले पनि यस क्षेत्रको राजनीतिक अंकगणित बुझ्न मद्दत गर्छ । पहाडी भेगका गोलन्जोर र फिक्कल गाउँपालिकामा एमालेले नेतृत्व जित्दै आफ्नो परम्परागत पकड अझै बलियो रहेको संकेत दिएको छ । तर जनसंख्या बढी भएको तराई र मध्यपहाडी क्षेत्रतर्फ नतिजा फरक देखिन्छ । तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकामा काँग्रेस बलियो देखिएको छ भने दुधौली नगरपालिकामा माओवादी केन्द्रको प्रभाव छ । यी नतिजाले सिन्धुली–१ कुनै एक दलको पूर्ण नियन्त्रणमा नभई मिश्रित राजनीतिक यथार्थ बोकेको क्षेत्र भएको पुष्टि गर्छ ।

समानुपातिक मतको तथ्यांकले भने एमालेको संगठनात्मक शक्ति अझै बलियो रहेको देखाउँछ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले २२ हजारभन्दा बढी समानुपातिक मत पायो, जुन कांग्रेस र माओवादी केन्द्रभन्दा बढी हो । तर प्रत्यक्षतर्फ गठबन्धनको अभाव, वाम मतको विभाजन र नयाँ दलको उपस्थितिले एमालेको पुरानो लाभलाई चुनौती दिएको छ ।

यसपटक एमालेले आफ्नो पुरानो विरासत फर्काउने लक्ष्यसहित प्रदीपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ । प्रदेश राजनीतिमा परिचित कटुवालमाथि पार्टीको लामो इतिहास पुनःस्थापित गर्ने दबाब छ । उता काँग्रेसले अनुभवी नेता उज्वलप्रसाद बराललाई मैदानमा उतारेको छ । गठबन्धन बिना एक्लै चुनाव लड्नुपरेको अवस्थामा काँग्रेसका लागि २०७९ को जित दोहो¥याउनु चुनौतीपूर्ण देखिन्छ ।

वाम धारभित्रै नयाँ प्रतिस्पर्धा थपिँदा एमाले थप दबाबमा परेको छ । नेकपाबाट डेकेन्द्र सुवेदी चुनावी मैदानमा उत्रिएका छन्, जसले वाम मत विभाजनको सम्भावना बढाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेमकिपा र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले मत गणित झनै जटिल बनाएको छ । २०७९ मा सीमित मत ल्याएको रास्वपाले यसपटक युवा र असन्तुष्ट मतदातालाई आकर्षित गरे ठूला दलका लागि टाउको दुखाइ बन्न सक्ने आँकलन छ ।

मतदाता संख्यामा आएको वृद्धि पनि निर्णायक बन्ने देखिन्छ । सिन्धुली–१मा १ लाख १० हजार ३९१ मतदाता छन् । पछिल्लो समय हजारौँ नयाँ मतदाता थपिएका छन् । युवा तथा पहिलोपटक मतदान गर्ने मतदाताको सोच, प्राथमिकता र अपेक्षाले परम्परागत दलहरूको रणनीतिमा प्रत्यक्ष असर पार्ने निश्चित छ ।

आगामी निर्वाचनमा सबै दल एक्लै चुनावी मैदानमा छन् । त्यसैले एमालेले आफ्नो समानुपातिक मतलाई प्रत्यक्षमा सुरक्षित राख्न सके एमाले पुनः जितको नजिक पुग्न सक्नेछ । सिन्धुली–१ को अंकगणितले कुनै एक दलको एकलौटी वर्चस्वभन्दा पनि शक्तिहरूको ध्रुवीकरणले नतिजा निर्धारण गर्ने देखाउँछ । एमालेसँग करिब २२ देखि २५ हजारको संगठित र क्याडर मत आधारभूत ठुलो शक्तिका रूपमा छ । काँग्रेस र माओवादी एमालेभन्दा कमजोर देखिएका छन् ।

समग्रमा सिन्धुली–१ को निर्वाचन अब दुई दलको साधारण प्रतिस्पर्धा मात्र रहेन । पुरानो वर्चस्व जोगाउने प्रयास, नयाँ शक्ति र बदलिँदो मतदाता मनोविज्ञानबीचको टकरावले यो निर्वाचनलाई अर्थपूर्ण बनाएको छ । परिणाम जे आए पनि सिन्धुली–१ बाट आउने मतादेशले बागमती प्रदेश मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत स्पष्ट सन्देश दिने निश्चित देखिन्छ ।

प्रतिक्रिया