शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली–२ मा स्वतन्त्र उम्मेदवार महेश्वर दाहालतर्फ बढ्दो आकर्षण

बिहिवार , माघ २२, २०८२

सिन्धुली,– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुली क्षेत्र नम्बर–२ मा राजनीतिक समीकरण तीव्र रूपमा बदलिँदै गएको छ । स्वतन्त्र उम्मेदवारका रूपमा ‘मुढा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका महेश्वर दाहालप्रति जनसमर्थन क्रमशः एकोहारिँदै गएको देखिन्छ । परम्परागत दलगत घेराबन्दी तोडेर नयाँ विकल्प खोजिरहेका मतदाताले दाहाललाई केन्द्रमा राख्दै व्यापक जनसम्पर्क अभियान थालेका छन् ।

स्थानीय तहदेखि गाउँ–बस्ती र बजारसम्म मतदाता भेटघाट, प्रत्यक्ष संवाद र गुनासा संकलनका कार्यक्रम तीव्र बनाइएका छन् । महेश्वर दाहालका समर्थकहरू भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति, विकासको गति, रोजगारी सिर्जना र नातावाद–परिवारवादको अन्त्यजस्ता मुद्दालाई प्राथमिकतामा राखेर अभियान अघि बढाइरहेका छन् । यही सन्देशलाई संस्थागत गर्दै सिन्धुलीमाढीको धुराबजारमा सम्पर्क कार्यालय स्थापना गरिएको छ भने जिल्लाका अन्य स्थानमा पनि यस्तै कार्यालय विस्तार गर्ने तयारी भइरहेको स्थानीयले बताएका छन् ।

अभियानलाई सामाजिक सञ्जाल र स्थानीय मिडियामार्फत समेत सशक्त बनाइएको छ । समर्थकहरूको भनाइमा यो चुनाव व्यक्तिको जित–हारभन्दा पनि राजनीतिक संस्कार र विधिको रक्षा गर्ने लडाइँ हो । “समाज र राजनीति बिग्रनुमा खराब कर्म गर्नेहरूको मात्रै दोष हुँदैन, असल मान्छेको मौनताले पनि बिगार्छ,” अभियानमा सक्रिय प्रेम वर्मा भन्छन्, “त्यही मौनता तोड्न हामीले शान्तिपूर्ण विद्रोह गरेका हौँ । यो सत्य, न्याय र विधिको पक्षमा उभिएको आन्दोलन हो ।”

स्थानीय नेता कल्याण बरालका अनुसार यो संघर्ष पदका लागि नभई भावी पुस्ताको भविष्य सुरक्षित गर्ने अभियान हो । “आत्मस्वाभिमान र नैतिक राजनीतिका लागि यसपटक मुढा चिन्हमा मतदान गरौँ,” उनको अपिल छ । सामाजिक सञ्जालमा पनि यस अभियानले उल्लेख्य चर्चा पाएको छ । विभिन्न टिप्पणी र लेखमार्फत परम्परागत नेतृत्व र केन्द्रीकृत निर्णयप्रणालीमाथि प्रश्न उठाइएको छ ।

सामाजिक सञ्जालमा सक्रिय दुधराज पुलामीले लेखेका छन् कि केही समूहले भ्रामक प्रचार गरेर स्वतन्त्र उम्मेदवारको अभियानलाई कमजोर बनाउन खोजिरहेका छन् । उनका अनुसार विगतमा पार्टीभित्र भएका निर्णय, टिकट वितरणको प्रक्रिया र स्थानीय नेतृत्वको भूमिकाबारे गम्भीर समीक्षा हुनुपर्ने बेला आएको छ । “आफ्नै पालिकामा एकताबद्ध हुन नसक्नेले चुनाव जित्छ भनेर डर देखाउनु राजनीतिक छल मात्रै हो,” उनले टिप्पणी गरेका छन् ।

दुघराज पुलामी सामाजिक सञ्जालमा लेख्छन्, ‘एकाथरिले बडो जान्नेसुन्ने भएर महेश्वर दाहालले मनोजजंग थापालाई र हरिबोल गजुरेलले घण्टीका आफ्नै भतिजलाई जिताउन खोज्दैछन् भन्दै हिँड्दै रहेछन् ।’

उनी लेख्छन् “कहाँ ओली प्रतिगमनका मलामी थापा, कहाँ लोकरिझ्याईंका घण्टीवाला, कहाँ निष्ठाका प्रतिमुर्ति महेश्वर दाहाल तुलना गर्नै मिल्दैन र सकिँदैन । फेरि लेखनाथ दाहाल (राजन) को सट्टा महेश्वर दाहाल लगायत अन्यलाई टिकट दिन नहुने वाध्यतामा पार्टी केन्द्रलाई कसले पु¥यायो ? किन पु¥यायो ? राजन दाहाल वाहेक अरुको भुमिका केही छैन र ? राजन दाहाल सिन्धुलीमा पार्टीको इन्चार्ज तथा अध्यक्ष बनेर आउनु भन्दा अगाडि पार्टी थिएन ? सङ्गठन थिएन ? नेता कार्यकर्ता थिएनन् ? चुनावदेखि चुनाव जितेका थिएनन् र ? बुझक्कड भनाउँदाहरुले यसको जवाफ राम्रोसँग देओस् । आफ्नै पालिका सुनकोशीमा एकगठ गर्न नसक्नेले चुनाव जित्छ भनेर हाउगुजी फैलाउन खोज्नेहरु कस्ता होलान ? अर्को कुरा एकथान सांसद कम भएर केही हुदैन भन्ने पनि देखिसक्यो, बुझिसक्यो त ?”

उनको थप भनाई छ,“ जिल्ला कार्यदलको उमेदवार सिफारिस समितिको सिफारिसलाई च्यालेन्ज गर्ने यस्तो केन्द्रीकरण विरुद्ध सिन्धुली पार्टी एकगठ छ । हरिबोलको नेतृत्वमा एकगठ हुनुपर्छ । नेतृत्वको रक्षा र कार्यकर्ताको संरक्षण हिजो, आज र भोलिको आवश्यकता हो । महेश्वर दाहालको चुनाव चिन्ह मुढाले जितिन्छ । यसमा कुनै विकल्प छैन । विधिको पार्टी वनेरै छोड्छ । आत्मा केन्द्रित , स्वेच्छाचारी, वेतिथी व्यभिचार, परिवारवाद अनि राम्रो र हाम्रो हैन मेरोवाद तोडिन्छ । डर, त्रास तथा धाक–धम्की तथा मैमत्ताशुर जति बढ्दै जान्छ त्यत्तिनै खरो र दरो प्रतिवाद हुन सक्छ । र विस्तारै भ्रष्टाचारजन्य गतिविधिको पनि पर्दाफास हुन सक्छ । हेक्का रहोस् ।”

राजन दाहालकै गाउँपालिकामा ठूलो विद्रोह

यसैबीच सिन्धुली–२ का निवर्तमान संघीय सांसद राजन दाहालको गृह गाउँपालिकामै राजनीतिक असन्तोष चर्किएको छ । यही गाउँपालिकामा उनकी पत्नी दीपा बोहोरा दुई पटक गाउँपालिका प्रमुख निर्वाचित भए पनि पछिल्लो समय नेतृत्वप्रति विश्वास घट्दै गएको देखिन्छ । पार्टीभित्र गुटगत राजनीति, व्यक्तिगत स्वार्थ र शक्ति केन्द्रीकरण हावी भएको आरोपसहित स्थानीय तहमा संगठित असन्तोष देखिन थालेको छ ।

पार्टीका प्रदेशस्तरीय सदस्य र परिचित नेताहरू खुलेरै महेश्वर दाहालको समर्थनमा उभिन थालेका छन् । प्रदेश सदस्यहरू दुधराज पुलामी, केशव लोहनी र सन्तोष दाहालले जिल्लास्तरबाट सिफारिस गरिएको उम्मेदवारलाई साथ दिने घोषणा गरेका छन् । उनीहरूसँगै कल्याण बराल र प्रेम वर्माजस्ता सक्रिय नेताहरू पनि विद्रोही धारमा खुलेका छन् ।

जनप्रतिनिधि निर्वाचित गराएको आफ्नै क्षेत्रमा नेतृत्वप्रति अविश्वास बढ्नु र संगठित असन्तोष प्रकट हुनु पार्टीका लागि गम्भीर चुनौती बन्न सक्ने राजनीतिक विश्लेषकहरूको मत छ । उनीहरूका अनुसार यस्तो असन्तोषले स्थानीय राजनीतिमा नयाँ ध्रुवीकरण निम्त्याउने सम्भावना बढेको छ ।

समर्थकहरूको भनाइमा अहिलेको लडाइँ ‘राम्रो र हाम्रो’ भन्दा ‘मेरो’ भन्ने प्रवृत्तिविरुद्धको हो। डर, धम्की र दबाबको राजनीतिलाई अस्वीकार गर्दै विधि, पारदर्शिता र उत्तरदायित्वलाई स्थापित गर्ने लक्ष्यसहित अभियान अघि बढिरहेको उनीहरूको दाबी छ । यही कारण सिन्धुली–२ मा यसपटक चुनावी प्रतिस्पर्धा केवल उम्मेदवारबीच नभई राजनीतिक मूल्य र संस्कारबीचको टकरावका रूपमा रूपान्तरित हुँदै गएको छ ।

प्रतिक्रिया