सिन्धुली,२२ माघ — सिन्धुली जिल्लामा आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न तयारीमा छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको लागि दुई हजार १७६ जना कर्मचारी परिचालन गर्ने योजना बनाएको छ । जिल्लामा दुईवटा निर्वाचन क्षेत्र भएकाले मतदान संचालनका लागि व्यापक तयारी भइरहेको छ ।
जिल्लामा कुल १५१ वटा मतदानस्थल र २७२ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचन क्षेत्र नं. १ मा ७७ मतदानस्थल र १३८ मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा कम्तीमा एक हजार १०४ जना कर्मचारी परिचालन हुनेछन् । निर्वाचन क्षेत्र नं. २ मा ७४ मतदानस्थल र १३४ मतदान केन्द्र रहेका छन् र यहाँ कम्तीमा एक हजार ७२ जना कर्मचारी कार्यमा रहनेछन् ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख ईश्वरनाथ मिश्रका अनुसार, प्रत्येक मतदान केन्द्रमा मतदाता संख्या अनुसार कर्मचारी परिचालनको व्यवस्था गरिएको छ । पाँच सयसम्म मतदाता भएको मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुई स्वयंसेवक गरी आठ जना कर्मचारी रहनेछन् । पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा भने सहायक कर्मचारीको संख्या यथावत राख्दै स्वयंसेवक थपिनेछन् ।
निर्वाचनमा परिचालन हुने कर्मचारीमा स्थानीय तह, सरकारी कार्यालय र शिक्षकहरू रहेका छन् । सिन्धुलीका नौ वटा स्थानीय तहमा कुल मतदाता संख्या दुई लाख १५ हजार १९ रहेको छ । नयाँ मतदाताको संख्या ६ हजार ६०४ रहेको छ । निर्वाचन क्षेत्र नं. १ मा कुल मतदाता संख्या एक लाख १० हजार ३९१ र निर्वाचन क्षेत्र नं. २ मा एक लाख चार हजार ६२८ रहेका छन् ।
सुरक्षा व्यवस्था पनि मुख्य प्राथमिकतामा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन मतदानस्थल र मतदान केन्द्रलाई तीन भागमा वर्गीकरण गरेको छ । १५१ मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यको रूपमा छुट्याइएको छ । यसअनुसार अति संवेदनशील २५, संवेदनशील ६५ र बाँकी सामान्य मतदानस्थल रहेको छ ।
यो तयारीसँगै निर्वाचनलाई व्यवस्थित, सुरक्षित र पारदर्शी रूपमा सञ्चालन गर्न आवश्यक प्रावधान मिलाइएको छ । गत निर्वाचन, मंसिर २०७९ मा जिल्लामा दुई लाख आठ हजार ४१५ मतदाता थिए। यसपटक मतदाता संख्या वृद्धि भएसँगै निर्वाचन व्यवस्थापनमा थप चुनौती रहेको अधिकारीहरूले जनाएका छन् ।
जिल्ला प्रशासन, निर्वाचन कार्यालय र स्थानीय तहले संयुक्त रूपमा निर्वाचनमा परिचालन हुने कर्मचारीलाई प्रशिक्षण दिइरहेका छन् । मतदाता र मतदान प्रक्रिया दुवैलाई सहज बनाउन कर्मचारी परिचालन, सुरक्षा व्यवस्था र व्यवस्थापन सुनिश्चित गरिएको छ ।
सिन्धुलीवासीले सुरक्षित, निष्पक्ष र सुचारु निर्वाचनको वातावरणमा आफ्नो मत प्रयोग गर्न सकुन् भन्ने उद्देश्यसहित प्रशासनले तयारीलाई पूर्णता दिइरहेको छ ।