मकवानपुर — हेटौंडामा जारी वाग्मती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत सोमबार भएको खेलमा विजयी हुँदै सिन्धुलीको ब्लु अल्पाइन क्लब सेमिफाइनलमा प्रवेश गरेके छ ।
सिन्धुली जिल्लाको लिग च्याम्पियन ब्लु अल्पाइन क्लबले सिन्धुपाल्चोकको चौतारा स्पोर्टिङलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको समूह चरणको खेलमा समूह ‘ख’ बाट दोस्रो जीत निकालेको सिन्धुलीले ६ अंक जोडेको छ । सिन्धुलीको तर्फबाट १६ औं मिनेटमा रवि महतराले गोल गर्दै अग्रता दिलाउनु भएको थियो । खेलको ३० औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै निर्दोष थिङले अग्रतालाई बढाउनुभयो । सिन्धुपाल्चोक कप्तान भीमबहादुर गुरुङले पेनाल्टीमा गोल गरेपनि टोलीको हार टार्न सक्नुभएन् ।
लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ जिल्लाको लिग विजेता टिमको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत बुधबार हुने सेमिफाइनलमा सिन्धुलीले दोलखाको टाइगर टिम तिखाताल र काठमाडौंको चित्लाङ फुटबल क्लब र ललितपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।