कमलामाई नगरपालिकास्तरिय क्रिकेट प्रतियोगिता भगवती क्रिकेट क्लबले जितेको छ । बुधबारबाट सिन्धुलीमाढीमा संचालन भएको नगरस्तरिय क्रिकेट प्रतियोगिता भगवती क्रिकेट क्लबले जितेको हो । भगवती क्रिकेट क्लबले नगद १२ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो जनज्योति माध्यमिक विद्यालय फोस्रेटार भएको थियो । दोस्रो हुने विद्यालयले ६ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।
भगवती बाल क्लबको आयोजनामा संचालन भएको क्रिकेट प्रतियोगितामा कमलामाई नगरपालिकाका ८ वटा विद्यालयका क्लबको सहभागिता रहेको छ । ६ वटा निजि विद्यालय र दुइ वटा सामुदायिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । भगवती माध्यमिक विद्यालयको आर्थिक सहयोगमा प्रतियोगिता संचालन भएको हो ।
भगवती माध्यमिक विद्यालयका प्रिन्सिपल कृष्ण उप्रेतीले विद्यार्थीले किताबी ज्ञानसँगै बाहिरी ज्ञान पनि हासिल गर्नुपर्ने बताउँदै क्रिकेट प्रतियोगिताले विद्यार्थीमा रहेको प्रतिभालाई उजार गर्न सहयोग पुर्याएको बताउनुभयो । भगवती माध्यमिक विद्यालयले विद्यार्थीको क्षमता, सीप र ज्ञानलाई उजागर गर्न जस्तोसुकै सहयोग गर्न तत्पर रहेको उहाँले बताउनुभयो । खेलकुदले विद्यार्थीलाई शारिरीक तथा मानसिक रुपमा चुस्त दुरुस्त बनाउने भएकाले विद्यार्थी जीवनमा खेलकुदको महत्व रहेको उहाँले बताउनुभयो । प्रतियोगिताले अन्तरविद्यालय विच समेत सुमधुर सम्बन्ध स्थापनामा सहयोग पुग्ने बताउँदै विद्यार्थीको प्रतिभा उजागर गर्न विद्यालयले आवश्यक सहयोग गर्ने प्रिन्सिपल उप्रेतीले बताउनुभयो ।