काठमाडौं – नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले आज (मंगलबार) एएफसी च्यालेन्ज लिग प्लेअफमा भूटानको पारो एफसीको चुनौती सामना गर्दैछ । यी दुईबीच मंगलबार साँझ ६ बजे दशरथ रंगशालामा प्रतिष्पर्धा हुँदैछ ।
तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होण्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ । नेपाली घरेलु लिगमा नै सफल विलियम ओपोकीलगायत चर्चित खेलाडी पारोले यही प्रतियोगिताका लागि भित्राएको छ । यद्यपि, चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य छन् । त्यसैले मंगलवार चर्च ब्वाइजले भूटानी प्रतिद्वन्दीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ ।
करिब एक महिनादेखि चर्च ब्वाइजले यो प्रतियोगिताको तयारी गरेको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने विश्वास चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनलाई छ । तीन हप्ताभन्दा बढी समय भएकाले टिमको सन्तुलन मिलेको उहाँले बताउँनुभयो । खेलाडीले आफ्नो क्षमता र रणनीतिअनुरूप खेल्नसके घरेलु समर्थकलाई सुखद् नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।
पारोले अहिले भूटानमा लिग खेलिरहेको छ । लिगमा पारो शिर्ष स्थानमा छ । उनीहरूबीच राम्रो तालमेल पनि मिलेको छ । साथै चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्राउँदै थप बलियो बनाएको छ । एएफसीले विदेशी खेलाडी अनुवन्धनमा सहज बनाएपछि पारोमा ११ विदेशी खेलाडी छन् ।
यसले लगानी धेरै गर्न नसक्ने क्लवका लागि केही गाह्रो हुने चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले बताउँनुभयो । तथापि पारोमा विदेशी खेलाडीबीच त्यति राम्रो तालमेल मिल्न नसकेको उहाँको बुझाइ छ ।
चर्च ब्वाइजले अफिसियल मैदानमा प्रशिक्षण गर्ने स्थान राम्रो पाउने सकेको छैन । पाहुना टोली पारोले प्रशिक्षण गर्दै आएको आर्मीको फुटबल मैदानमा खेल्न अयोग्य रहेको उल्लेख गरेपछि उसलाई दशरथ रंगशालामा प्रशिक्षण गर्ने अवसर दिइएको थियो । चर्च ब्वाइजले प्रशिक्षण गरिरहेको मैदान खेल्न योग्य नै नभएको प्रशिक्षक महर्जनको भनाइ छ । यद्यपि, मैदान अभाव हुँदा विकल्प नरहेको उल्लेख गर्नुभयो । त्यसले गर्दा आफ्नो टोलीलाई पनि केही घाटा हुने उहाँको बुझाइ छ ।
यता, चर्च ब्वाइजका कप्तान अनन्त तामाङले आफूहरू दशरथ रंगशालामा लामो समयदेखि खेल्दै आएकाले त्यहाँ प्रशिक्षण गर्न नपाए पनि केही फरक नपर्ने उहाँको भनाइ छ । आफ्नो योजना र रणनीतिअनुरू खेल्न सके जुनसुकै मैदानको तयारीले पनि नतिजामा कुनै असर नपर्नेले उहाँले बताउनुभयो । साथै कप्तान अनन्तले विपक्षी टोलीमा जस्तोसुकै नाम भएको खेलाडी आए पनि आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो टोलीमा रहेका खेलाडीमा पनि क्षमता रहेको बताउनुभयो ।
पारो प्लेअफ खेल्न गत शनिवार नेपाल आइपुगेको हो । यसबीच पाहुना टोलीले नेपालको मौसमअनुरूप प्रशिक्षण गर्न पनि पाएको छ । पछिल्लो सिजनको तुलनाम यस पटक बलियो टोली रहेको पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्छ । अघिल्लो सिजन नेपालको क्लब मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो । त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।
च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजमा एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलानजस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडी खेल्दैछन् । चर्च ब्वाइजमा तीन विदेशी ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा –जाम्बिया) र मोजेस ग्याबा त्वाम (घाना) खेलाडी हुनुहुन्छन् ।
अन्य खेलाडीमा लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बोकुमार चौधरी, सञ्जीव बिष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की र विवेक पौडेल ,निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनीषकुमार जर्गा र आदित्य शाक्य छन् ।