सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकामा आयोजित मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता २०८० अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले उचालेको छ । शनिबार भएकोे फाइनल खेलमा कमलामाई नगरपालिकाको वडा नम्बर १० लाई स्तब्ध पार्दै वडा नम्बर ५ प्रतियोगिताको च्याम्पियन बनेको हो ।
कमलामाई नगरपालिका ६ स्थित खम्बे चौरमा भएको फाइनल खेलमा कनपा १० लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ ले उपाधि हात पारेको छ । दोश्रो हाफमा कनपा १० का खेलाडीले फल गरेपछि पेनाल्टी पाएको वडा नम्बर ५ का लागि रवि मतहराले निर्णायक गोल गर्नुभएको थियो । यसअघि वडा नम्बर १३ सँगको सेमिफाइनल खेलमा पनि मतहराको निर्णायक एक गोलले वडा नम्बर ५ , १–० गोल सहित जित निकाल्न सफल भएको थियो । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्नुभएका मतहराले चार्टड एकाउन्टेन्ट (सि.ए) सन्तोष कार्कीलाई धन्यवाद दिनुभएको छ । अडिट फर्ममा काम गरिरहनुभएका मतहराले भन्नुभयो, ‘अडिटिङसँगै फुटबलमा सधैँ प्रोत्साहन गर्नुहुने सिए सन्तोष कार्की मेरो प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहान्छु ।’
प्रतियोगिताको उपाधि चुमेको वडा नम्बर ५ नगद ४० हजार रुपैँयासहित पुरस्कृत भएको छ । उपविजेतामा सीमित वडा नम्बर १० ले २० हजार रुपैँया र शिल्ड प्राप्त गरेको आयोजक कमलामाई नगर खेलकुद विकास समितिले बताएको छ । सेमिफाइनल खेलमा वडा नम्बर १ लाई हराउदै वडा नं १० फाइनलमा पुगेको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ कमलामाई नगरा नगर खेलकुद बिकास समितीको आयोजनामा चैत्र ५ गतेदेखी शुरु भएको फुटबल प्रतियोगितामा १३ वटा वडाले सहभागिता जनाएको थियो । वडा नम्बर ११ भने फुटबल प्रतियोगितामा सहभागि नभएकोे आयोजकले जनाएको छ ।
त्यस्तै, मेयर/उपमेयर खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, कराँते र तेक्वान्दोको खेल तालिका भने सार्वजनिक भइनसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एसईइ र कक्षा ८ को परिक्षा भइरहेको हुँदा परिक्षा सम्पन्न भएपछि खेल तालिका सार्वजनिक हुनेछ ।’ प्रतियोगिता आयोजना भइरहदा केहिले विरोध गरेको बताउदैँ थापाले भन्नुभयो, ‘फुटबलको लागि दुई लाख रुपैँयामात्र बजेट भएकोेले सिमित श्रोतसाधनकै बिच खेल सम्पन्न भएको छ ।’