सिन्धुली– २०७६ मा भएको पहिलो संस्करणको फाईनलको बदला लिदैँ सिन्धुलीले तेश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार जिल्लाको हरिहरपुरगढी गाउँपालिका ५ स्थित बोटेनी खेल मैदानमा नेपाल माझी उत्थान संघ, सिन्धुली ‘ए’ ले रामेछापलाई टाई ब्रेकरमा ७–६ को गोल अन्तरले पराजित गर्दै दुई लाख ६५ हजार ५५५ नगद हात पार्यो निर्धारित ९० मिनेटमा २ – २ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
उपविजेतामा चित्त बुझाएको नेपाल उत्थान संघ, रामेछापले एक लाख ३२ हजार २२२ रुपैँया नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, मंगलबारनै तेश्रो स्थानकालागि भएको खेलमा नेपाल माझी उत्थान संघ, सुनसरीले टाई ब्रेकरमा सिन्धुपाल्चोकलाई पराजित गरेको छ । निर्धारित ९० मिनेटसम्म कुनैपनि गोल नभएपछि विजेताको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । सुनसरीले टाई ब्रकेरमा ३–२ को अन्तरले जित निकाल्दै प्रतियोगितामा तेश्रो भएको छ । सुनसरीले ६६ हजार ६६६ रुपैँया नगद र सिन्धुपाल्चोकले २५ हजार रुपैँया नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा देभरका २३ जिल्लाका नेपाल माझी उत्थान संघको टिमको सहभागिता रहेको थियो ।
राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो संस्करणमा रामेछापले सिन्धुलीलाई पराजित गर्दै उपाधि उचालेको थियो । त्यस्तै, दोश्रो संस्करणमा रामेछाप ‘ए’ र मकवानपुरबिच भएको फाइनल खेलमा रामेछाप ‘ए’ विजयी भएको थियो ।