काठमाडौँ– एसिया कप २०२३ अन्तर्गत वर्षाले प्रभावित खेलमा भारतसँग नेपाल १० विकेटले पराजित भएको छ । सोमबर राति भएको खेलमा डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो । जुन लक्ष्य भारतले २०.१ ओभरमा विना विकेटको क्षतिमा पार गर्यो ।
एसिया कपबाट बाहिरीएपनि नेपालले शान्दार खेल खेलेको छ । विश्वकप विजेता देश भारत र पाकिस्तानसँग हार व्यहोरेको नेपालको हौसला बढाउन निजि कम्पनिले पुरस्कारको घोषणा गरेको छ । यती ब्रेवेरीको उत्पादन अर्ना बियरले भारतसँगको खेलमा हरेक छक्का र चौक्का प्रहार गर्ने खेलाडीलाई जनहि २५ र एक लाख रुपैँया दिने घोषणा गरे अनुसार नेपाल आएपछि सो पुरस्कार प्रदान गरिने जानकारी दिएको छ । कुशल भुर्तेलले तीनवटा चौकाको ७५ हजार, दुइवटा छक्काको दुई लाख गरि दुई लाख ७५ हजार रुपैँया अर्ना बियरको तर्फबाट पुरस्कार पाउने भएका छन् ।
त्यस्तै, आशिफ शेखले ८ वटा चौकाको २ दुईलाख, गुलसन झाले तीनवटा चौकाको ७५ हजार, दिपेन्द्र सिंह एरिले तीनवटा चौकाको ७५ हजार र सोमपाल कामिले एउटा चौका र दुई वटा छक्काको २ लाख २५ हजार रुपैँया पुरस्कार पाउने अर्ना बियरले जनाएको छ । उनीहरु नेपाल आउनासाथ पुरस्कार वितरण गरिने अर्ना बियरले जानकारी दिएको छ ।
अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो–क्यालोरी बियर हो । कम क्यालोरी भएको यो बियर “हाइ अन फन, लो अन क्यालोरी” भन्ने मूख्य सन्देश लिई बजारमा आएको छ । यो बियरले स्वादलाई प्राथमिकता दिँदै उपभोक्ताहरुले बियरमा चाहने हरेक गुणलाई प्रस्तुत गर्नुका साथै क्यालोरी र कार्बको मात्रा घटाई आजकलको व्यस्त जीवनशैलीमा उपभोक्ताहरुले अधिक रुचाएको फिट्नेशमा पनि ध्यान दिएको छ ।
कस्ले कति पुरस्कार दिए ?
धनुषाको जनकन्दिनी गाउँपालिकाका अध्यक्ष दीपिनदेव यादवले व्यक्तिगत नगद राशीको घोषणा गरेअनुसार अर्धसतक प्रहार गरेका आशिफ शेखले ५० हजार पाउने भएका छन् । उनले सतक लगाए १ लाख र कुनै बलरले ह्याट्रिक विकेट लिए ५० हजार दिने घोषणा गरेका थिए । तर, शतक र ह्याट्रिक विकेट कुनैपनि नेपाली खेलाडीले लिन सकेनन् ।
त्यसैगरि, नेपालको अग्रणी भुक्तानी सेव प्रदायक ई–सेवाले हाफ सेन्चुरी प्रहार गर्ने आशिफ शेखलाई ५० हजार दिने भएको छ । ईसेवाले पहिलो विकेट लिनेलाई २५ हजार रुपैयाँ र विराट कोहलीको विकेट लिनेलाई २५ हजार रुपैयाँ दिइने ई–सेवाले जनाएको थियो । शेखले अर्ना बियर, जनकन्दिनी गाउँपालिका र ईसेवाबाट कुल तीन लाख पुरस्कार पाउने भएका छन् ।
यस्तै, फिल्म निर्देशक चन्द्र पन्त प्रमुख रहेको कम्पनी इन्सपायर नेपाल फाउन्डेसनले प्रत्येक छक्का प्रहार गर्ने कुशल भुर्तेल र सोमपाल कामीलाई दुई/दुई छक्का प्रहार गरेबापत जनहि एक लाख दिने भएको छ । फाउन्डेसनले नेपालले जितेमा टिमलाई ५ लाख, प्रत्येक विकेटमा ५० हजार र प्रत्येक छक्कामा ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए । भुर्तेलले अर्ना बियर र इन्सपायर फाउन्डेसनबाट कुल तीन लाख ७५ हजार पाउने भएका छन् भने कामीले तीन लाख २५ हजार पाउने भएका छन् ।