काठमाडौँ ,९ भदौ - नेपाली महिला क्रिकेट टिमले मलेसियामा जारी चार देशको टी-२० सिरिजको उपाधि जितेको छ । आज सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डक वर्थ लुइस नियम अनुसार १३ रनले पराजित गरेको हो ।
हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाएपछि खेल बर्षाले प्रभावित भएको थियो । त्यसपछि खेल अगाडी बढ्न नसक्ने भएपछि डक वर्थ लुइस नियम अनुसार नेपाल १३ रनले विजयी भएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाउदै १०१ रन बनाएको थियो ।
चार देशको सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ खेलेका थिए । यस सिरिजमा आयोजक मलेसिया तेस्रो भएको छ भने कुवेत चौथो भएको छ ।
यसपछि नेपालले मलेसियामा नै हुने विश्वकपको एशिया कप छनौट खेल अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म खेल्ने तालिका रहेको छ ।
एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।
दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।