काठमाडाैं, २ असोज- निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले सर्वाेच्न अदालत फर्किने तयारी गरेपछि नेपाल बार एसाेसिएसनले अवराेध गर्ने चेतावनी दिएकाे छ । आफूमाथि लागेको महाभियोगलाई संसद्ले औपचारिक रूपमा नटुंग्याएरै कार्यकाल सकिएपछि जबराले सर्वोच्च फर्किने तयारी थालेकाे भन्दै बारले गेटबाटै फर्काउने चेतावनी दिएकाे हाे ।
स्राेतका अनुसार जबराले ज्योतिषकाे सल्लाह अनुसार ४ असाेजकाे शुभसाइत पारेर सर्वाेच्च अदालत फर्किने तयारी थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय हुने दाबी राणाकाे छ ।
ज्योतिषले ४ गते फर्किदा शुभ हुने सल्लाह दिएका कारण राणाले मंगलबार हाजिर हुने जनाउ सर्वोच्च प्रशासनलाई दिइसकेकाे बताइएकाे छ । तर नेपाल बार एसाेसिएसनले भने राणाले सर्वाेच्च फर्किने चेष्टा गरे गेटबाटै छिर्न नदिने गरी अवराेधकाे तयारी गरेकाे छ ।
बारका अध्यक्ष गाेपालकृष्ण घिमिरेले जबराले सर्वाेच्च फर्किने तयारी गरेकाेले बारले अवराेधकाे तयारी गरेकाे बताए । संसद्ले निलम्बन गरेकाे अवस्थामा जबराले सर्वाेच्च फर्किन नमिल्ने उनकाे भनाइ छ । संसद्काे कार्यकाल सकिए पनि प्रधानन्यायाधीशमाथिकाे निलम्बन फुकुवा नभएकाे उनले बताए । जबराले सफाइ नपाएसम्म निलम्बन फुकुवा नहुने कुरामा बार प्रष्ट रहेकाे उनी बताउँछन् ।
गत फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले राणाविरुद्ध महाभियोग दर्ता गरेका थिए । त्यससँगै उनी निलम्बनमा परेका थिए । प्रतिनिधिसभाकाे कार्यकाल शनिबार रातिदेखि सकिएकाे छ । कार्यकाल सकिएकाेले संसद्मा पुगेका सबै प्रस्ताव निष्क्रिय हुने व्यवस्था बमाेजिम महाभियोग पनि निष्क्रिय हुने राणा पक्षधरको जिकिर छ ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भने राणालाई महाभियोग लगाउनुपर्ने सिफारिससहितको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई संसद्काे कार्यकाल सकिनुअघि शनिबार दिउँसाे नै बुझाएको थियाे । ११ सदस्यीय सिफारिस समितिले बहुमतका आधारमा तयार पारेको प्रतिवेदन सभामुखलाई बुझाएको हो ।
एमालेले समितिको प्रतिवेदनमा फरक मत राखेपछि प्रतिवेदन बहुमतबाट पारित भएको थियो । अध्ययन पूरा नभएको र प्रमाण संकलन भएको भन्दै एमालेले फरक मत राखेको हाे ।