सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका–४, डुंग्रेका १८ वर्षिय डोर बहादुर खपांगी मगरको नाम गिनिज बुकमा लेखिएको छ ।
दुई फिट ४.९ इन्चका खपांगीले विश्वको सबैभन्दा होचो बाँच्ने पुरुष किशोरको कीर्तिमान बनाउनुभएको छ । खपांगीलाई काठमाडौँमा गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको हो । खपांगीलाई दाइ नरबहादुर र नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले अवार्ड समारोहमा पु¥याएका थिए । गिनिज वल्र्ड रेकर्डले आयोजना गरेको समारोहमा सीईओ रेग्मीले खपांगीलाई विश्व किर्तिमानिको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
‘सबैभन्दा होचा किशोर जीवित (पुरुष) डोरबहादुर खपांगी (नेपाल, जन्मः १४ नोभेम्बर २००४) हुन् जसको १३ मार्च २०२२ मा काठमाडौँमा ७३.४३ सेन्टिमिटर (२ फिट ४.९ इन्च) औसत मापन गरिएको छ ।’ गिनिज वल्र्ड रेकर्ड प्रमाणपत्रमा लेखिएको छ । खपांगी बाल आधारभुत विद्यालयमा एक कक्षामा पढिरहनु भएको छ । खपांगीका सात जना दाजुदिदि छन् । उहाँ सबैभन्दा कान्छो हुनुहुन्छ । जिल्ला प्रशासन सिन्धुलीमा नागरिकता बनाउन आउँदा उहाँको तस्बिर खिचिएको थियो । उक्त तस्बिर छोटो समयमै भाइरल हुदाँ गिनिज बुकमा नाम लेखाउन खपांगीलाई सहज भएको थियो । तत्कालिन जिल्ला प्रमुख अधिकारी सुरेश न्यौपानेलाई धन्यवाद दिदैँ डोर बहादुरका दाई नरबहादुुरले गिनिज बुकमा नाम लेख्नेबारे प्रजिअले जानकारी गराएको बताउनुभयो ।
यसअघि कोलम्बियाका इडवार्ड निनो हर्नान्डेजले विश्वको सबैभन्दा होचो व्यक्तिको कीर्तिमान रच्नुभएको थियो । उहोँ दुईपटक विश्वको होचो व्यक्ति घोषित हुनुभएको थियो । सन् २०१० मा पहिलो पटक किर्तिमानि कायम गर्नुभएको हर्नान्वडेजको रकेर्ड नेपालका दुईजना व्यक्तिले भंग गरिदिएका थिए । खगेन्द्र थापा मगरले उहाँको ताज खोस्नुभएको थियो । त्यसपछि खगेन्द्रको ताज नेपालकै चन्द्रबहादुर डाँगीले खोसिदिनुभयो । तर, खगेन्द्र र चन्द्रबहादुर दुवैको मृत्यु भएपछि विश्वको सबैभन्दा होचो मानिसको कीर्तिमान पुनः हर्नाण्डेजकै पोल्टामा फर्किएको थियो ।
यता, महिलातर्फ भने भारतकि ज्याति आम्गे विश्वकै होची महिला हुन् । सन् २००९ मा ६१.९५ सेन्टिमिटर (२ फिट) उचाई मापन गर्दै आम्गे सबैभन्दा होची किशोरी घोषित हुनुभएको थियो । २८ वर्षिय आम्गले एक दशकभन्दा बढी समयदेखि यो रेकर्ड कायम राख्नुभएको छ ।
गिनिज वल्र्ड रेकर्ड होल्डरले कति पैसा पाउँछन् ?: विश्व किर्तिमान कायम गर्नेले कुनै पनि आर्थिक पुरस्कार नपाउने गिनिज वल्र्ड रेकर्डको आधिकारिक वेबसाइटमा पुष्टि गरिएको छ । ‘कीर्तिमान तोड्ने उपलब्धिमा विश्वको अतुलनीय अख्तियारको रूपमा हाम्रो भूमिका विश्वको उत्कृष्ट उत्सव मनाउने, साधारण मानिसहरूलाई प्रेरणा दिन र मनोरञ्जन र जानकारी दिनु हो । यी कारणहरूका लागि, हामी रेकर्ड–ब्रेकरहरूलाई तिनीहरूको उपलब्धि वा कीर्तिमान उपाधि प्रयासको लागि भुक्तान गर्दैनौँ । हामी कुनै पनि खर्च कभर गर्न, प्रायोजन प्रस्ताव गर्न वा रेकर्ड प्रयास गर्ने जो कोहीलाई उपकरण प्रदान गर्न पनि असमर्थ छौँ ।’ वेबसाइटमा उल्लेख गरिएको छ ।