सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकामा सामाजिक सुरक्षा भत्तावापत आर्थिक वर्ष २०७७/०७८ मा एक करोड ४२ लाख रकम बेरुजु खातामा फिर्ता भएको छ ।
सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रण गर्न नगरपालिकाले बैंकिङ प्रणाली अपनाएर भत्ता वितरण सुरु गरेपछि आर्थिक वर्ष २०७७/७८ को तीन चौमासिकमा रु एक करोड ४२ लाख ३५ हजार रकम बेरुजु खातामा फिर्ता गएको हो ।
आ.व. २०७७/७८ मा कमलामाई नगरपालिकालाई २१ करोड २६ लाख ७० हजार ५७७ रुपैँया निकासा दिएको थियो । नगरपालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गत रहेको सेवा एकाइको सक्रियतामा गलत लाभग्राहीको नाममा भुक्तानी हुँदै आएको रकम जोगिएको नगरपालिकाले जनाएको छ । बैंंकको सम्पर्कमा नआएका लाभग्राहीको नाममा पठाइएको रकम, मृत्यु भइसकेको लाभग्राहीहरुको एकै घरका परिवारलाई भत्ता रकम दिएपछि बाँकी रहेको रकम, दोहोरो दर्ताको कारण निकासा भएको रकम, राज्यवाट दोहोरो सुविधा लिएका लाभग्राहीको रकम र देश बाहिर रहेका लाभग्राहीहरुको भत्ता रकम फिर्ता भएको कमलामाई नगर, सेवा एकाईका एमआईएस अपरेटर भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
बैंकिङ प्रणालीमा गएपछि वडाहरुबाट सयौँ लाभग्राहीहरुको विवरण लगत कट्टा भएको थियो । आ.व. २०७७/७८ अन्त सम्ममा कमलामाई नगरपालिका सिन्धुलीमा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको संख्या सात हजार ४४९ जना रहेको थियो । ‘बैंकिङ प्रणालीमा लैजादा कतिपय मृत्यु भइसकेका, बसाइँ सराई गरेका, दोहोरो दर्ता भएको र देश बाहिर रेहेका लाभग्राहीको नाम हटाइएपछि सामाजिक सुरक्षा भत्ता वापतको करोडौँ रकम जोगिएको कमलामाई नगरपालिकाको सेवा इकाईले जनाएको छ । कमलामाई नगरपालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत रहेको सेवा इकाइको सक्रियतामा लाभग्राहीको सूचीबाट हटनुपर्ने समेतको नाममा भुक्तानी हुँदै आएको रकम जोगिएको सेवा ईकाईले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७८\०७९ को पहिलो त्रैमासिकमा छ करोड ४८ लाख २१ हजार रुपैँया भत्ता वितरण गरिएको छ । चालु आर्थिक वर्षबाट त्रैमासिक रुपमा वर्षमा चार पटक रकम निकाशा गरि वितरण सुरु भएको श्रेष्ठले बताउनुभयो । नौँ स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण थालेका छन् । यद्यपि अन्य स्थानीय तहले भने सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको चुहावटबारे बाहिर ल्याएका छैनन् ।