सिन्धुली – मौसममा आएको परिवर्तनले जिल्ला अस्पताल सिन्धुलीमा चिसोका बिरामी बढेका छन् । तापक्रम घटेपछि चिसोका कारण विभिन्न समस्या लिएर दैनिक विरामी बढ्न थालेको सिन्धुली अस्पताका मेडिकल अफिसर डा. उमेश प्रधानले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा हाल दैनिक विरामीको संख्या बढ्न थालेको छ । दैनिक ३० देखि ५० जना सम्म विरामी अस्पताल आउने गरेका छन् । अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुदाँ सेवा प्रवाहमा समस्या भइरहेको उहाँले बताउनुभयो । “हामीसँग अहिले दरबन्दी अनुसारको चिकित्सक छैनन् । यो समयमा बढी बालबालिका प्रभावित हुने गरेपनि अस्पतालमा बालरोग विषेशज्ञ नभएको कारण बालबालिका उपचारका लागि आउने गरेका छ्रैनन् । दैनिक विरामीको संख्या भने बढ्दै गएको छ ,” उहाँले भन्नुभयो ।
चिसो हावाका कारण रुघाखोकी, निमोनिया, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । जिल्लाको ग्रामिण क्षेत्रको स्वास्थ्य चौकिमा पनि चिसोको विरामी बढ्न थालेका छन् । कमलामाई नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केम थापाका अनुसार नगरपालिकाको वडाका स्वास्थ्य चौकिमा हाल चिसोका विरामी बढ्न थालेका छन् । बढि बालबालिका, बृद्धबृद्धा प्रभावित हुने गरेको उहाँको बताउनुभयो छ । चिसो बढेसँगै बालबालिका वृद्ध मात्रै नभई गर्भवती महिला र नवजात शिशुसमेत प्रभावित भएको उहाँको भनाइ छ । दैनिक चिसो बढ्दै गएकाले आफ्नो ख्याल गर्न उहाँले आग्रह गर्नुभयो ।
यस्तै चिसो बढेसँगै हाडजोर्नीका बिरामी बढ्ने गरेको सिन्धुली अस्पतालका अर्थौपेडिक सर्जन डा सुधान्सु झाले बताउनुभयो । “जब चिसो बढ्छ जोर्नीहरूको दुखाइ पनि बढ्छ । हाडजोर्नी समस्या अर्थात बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । मेडिकल भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ । हाडजोर्नी सञ्चालन हुनका लागि तरल पदार्थको आवश्यकता पर्छ । चिसो मौसममा तरल पदार्थ जम्ने गर्छ । त्यसले गर्दा जोर्नीमा जाम हुन्छ । त्यपछि बाथको समस्या देखापर्छ । त्यसैबाट बाथका रोगीको जोर्नीमा अरअरोपना आउँछ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ ,” उहाँले भन्नुभयो ।
उहाँले चिसोले गर्दा रगतका नलीहरू साँघुरिने उहाँले जानकारी दिनुभयो । रगतका नसाहरू साँघुरिँदा शरीरमा राम्रोसँग रगत सञ्चालन हुन नपाउँदा बाथरोग लाग्ने डा.झाले बताउनुभयो । चिसोमा जोर्नीहरू करकरती खाने र दुख्ने हुन्छ । त्यस क्रममा पहिला हातका पञ्जाको जोर्नी सुनिन्छ । बाथसम्बन्धी रोग लाग्यो भने निको हुने सम्भावना कम हुन्छ । त्यसैले जाडोमा बाथको समस्या बढ्ने गरेको उहाँको भनाइ छ । मौसमअनुकूलको खानपान, तातोपानी तथा झोलिलो खानेकुरा धेरै पिउन, न्यानो कपडा लगाउन, चिसोमा सकेसम्म बाहिर ननिस्कन उहाँले सुझाव दिनुभयो ।