शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली अस्पतालको कमजोरि लुकाउन संचारमाध्यमलाई ध्यानाकर्षण

बिहिवार , भाद्र ३, २०७८

सिन्धुली– सरकारले निशुल्क वितरण गर्ने ७० प्रकारका औषधी मोज्दातमा रहेको जिल्ला अस्पताल सिन्धुलीले बताएपनि सेवाग्राहिले भने औषधि पाउन सकेका छैनन् । निःशुल्क औषधि अस्पतालमा माग्दा नपाएकाले किनेर खाने अधिकांश सेवाग्राहिले गुनासो गरिरहेका छन् । अस्पतालमा निशुल्क पाउने औषधी माग्दा सकिएको भन्ने जवाफ आउने गरेको सेवाग्राहिको गुनासो सहितको समाचार विभिन्न संचारमाध्यममा सम्प्रेषण भएपछि अस्पातलले सेवाग्राहिको समस्या नबुझि सम्प्रेषण भएको समाचार नै झुटो भएको भन्दै ध्यानकर्षण पत्र सार्वजनिक गरेको छ ।

अस्पतालमा निशुल्क पाउने औषधी ६ महिनालाई पुग्ने मौज्दात रहेको र ज्वरो आउँदा खाने सिटामोल १ वर्षलाई पुग्ने मौज्दात रहेको भन्दै अस्पतालले सोमबार ध्यानकर्षण पत्र जारी गरेको छ । अस्पतालले ६ महिना सम्म पुग्ने थाइराइडको औधषी लेभोथाइरोक्सिन ५० एमजी मौज्दातमा रहेको बताएपनि उक्त औषधी अप्सरा कार्कीले किनेर खाइरहेको गुनासो गर्नु भएको छ । जिल्ला अस्पतालको प्रेस्किप्सन सहितको प्रमाण देखाउँदै अप्सराले भन्नुभयो, ‘दुइ हप्ता अगाडि अस्पतालमा परिक्षण गर्दा थाइराइडको औषधी लेभोथाइरोक्सिन ५० खानु भनेर लेखेकोे थियो । अस्पतालले उक्त औषधी सकिएको छ भनेपछि बाहिर किने ।’ अस्पतालमा मौज्दातमा औषधी हुदाँहुदै पनि सकिएको भन्ने जवाफ किन आउने गरेको भन्दै अप्सराले अस्पताललाई प्रश्न गर्नु भएको छ ।

यस्तै कमलामाई नगरपालिका ६ का अनिल खड्काले पनि आफुले निशुल्क पाउने सिटामोल, जिवनजल लगाएतका औषधी नपाएको दावी गर्नु भएको छ । साथै, उहाँले आफ्नो नाम सहितको ध्यानाकर्षण पत्र आएपछि झन्झटमा पर्न मन नलागेको तर आफू भन्दा गरिब नागरिकले सुविधा सजिलै पाउन् भनेर मात्र ध्यानाकर्षण गरेको बताउनुभयो ।

कनपा ४ सापत्रेकी मन कुमारी लामिछानेले सुगरको औषधि मेट्फरमिन किनेको बताउनुभएको छ । उहाँले अस्पतालमा पटक पटक माग्दा पनि नपाएपछि किन्न बाध्य भएको भन्दै किनेका सबै औषधी देखाउनु भएको छ ।

सेवाग्राहिले निशुल्क पाउने औषधी नपाएको प्रमाण सहित समाचार सम्प्रेषण हुदाँ अस्पतालले आफ्नो कमजोरी स्वीकार गर्नु पर्ने पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्ण हरि घिमिरेले बताउनुभयो । उहाँले प्रमाण सहित लेखिएको समाचार प्रति ध्याकर्षण गराउनु अस्पतालको अधिकार नभएको बताउनुभयो । आफ्नो कमजोरी सच्याउनु पर्ने ठाउँमा पत्रकारलाई नै धम्काउदै ध्याकर्षण पत्र जारी गर्नु उचित नभएको भन्दै उहाँले समाचार असत्य भए पुष्टि गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया