शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

देखिएनन् सिन्धुलीमा खेतमा हलो–जुवा र गोरु, सुनिएन कतै असारे गीत

बिहिवार , आषाढ २४, २०७८

सिन्धुली – असारको तेस्रो साता बितिसकेको छ । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिइने असारको शुरुआतदेखि नै किसान रोपाइँमा व्यस्त छन् । दर्के झरी र चर्को घामको पर्वाह नगरी सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् ।

कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर मुरी उब्जाउने चटारो यतिबेला किसानलाई छ । किसान रोपाइँमा व्यस्त भए पनि रोपाइँको मौलिकता भने हराउँदै गएको छ ।

कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रैथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनिट्रिलर र ट्याक्टरको प्रयोग बढ्दै गएको छ । असारे गीत पनि सुनिन छाडेको स्थानीय बासिन्दा बताउछन् । “पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमे भुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारहरूले असारे गीतको भाकासँगै धान रोप्न शुरु गर्दथे”, दुधौली नगरपालिका– निवासी किसान थानराज अधिकारीले भन्नुभयो, “तर अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो । तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।”

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौला

बनाई कुलो, लगाई पानी आएर गोडौला

यस्तै–यस्तै शब्दहरूमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको दुधौली नगरपालिका–५ की सिता बराल अहिले पनि झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसेके”, उहाँले थप्नुभयो । अहिले न असारे भाका गाउन जान्ने दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उहाँले सुनाउनुभयो ।

अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाहरूले चिन्ता व्यक्त गरेका छन् । “कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो”, कमलामाई नगरपालिका–४ फाँटका किसान चन्द्रबहादुर कार्कीले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।”

कृषिसँग नेपालीहरूको जीवन पद्धति पनि जोडिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलनहरू भएका बूढापाकाहरू बताउँछन् । यिनै प्रचलनहरूको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएका उनीहरुको भनाई पाईन्छ ।

असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । अहिले कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले गाउँमा जनघनत्व बढेको भएर अर्मपर्म गर्नेहरू बढेका भए पनि यो अस्थायी भएको स्थानीयवासीको गुनासो पाईन्छ ।

सिन्धुली जिल्लामा असार तेस्रो सातासम्म ६६ प्रतिशत अर्थात १० हजार ३३५ हेक्टर जमिनमा रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । केन्द्रका अनुसार सिन्धुली जिल्लाको कुल जमिन मध्ये धान खेतीयोग्य जमिनको क्षेत्रफल २२ हजार ३९४ दशमलब ०९ हेक्टर रहेको छ । त्यो मध्ये पनि बर्षे धान खेती हुने जमिनको क्षेत्रफल १५ हजार नौ सय हेक्टर रहेको छ । गत बर्ष जिल्लामा १४ हजार ७६४ हेक्टर जमिनमा धान खेती भएको थियो ।

यो बर्ष गत बर्षको भन्दा धेरै रोपाइँ हुने अनुमान गरिएको केन्द्रका प्रमुख भरतप्रसाद बिडारीले बताउनुभयो । यो बर्ष समयमै मनसुन हुन, कोभिड १९ का कारण कृषि श्रमिकको उपलब्धता, कृषिमा यान्त्रीकरण र रासायनिक मलको आपूर्ति गत बर्ष भन्दा सहज भएकोले धेरै क्षेत्रफल जमिनमा रोपाइँ हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया