शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनकोशी मरिण डाइभर्सन आयोजनाको शिलान्याससँगै स्थानीयमा उत्साह

सोमवार , फाल्गुण २४, २०७७

कुसुमटार(सिन्धुली),२४ फाल्गुण – राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजना निर्माण कार्य शिलान्याससँगै स्थानीयमा रोजगारी र अन्य अवसरको आसा पलाएर गएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार एक समारोह बीच कमलामाई नगरपालिका–२ कुसुमटारमा उक्त आयोजना निर्माण सुरु गर्न शिलान्यास गर्नु भएपछि स्थानीयमा रोजगारी र अन्य अबसरको आसा पलाएर गएको हो । “अब आयोजना निर्माण हुनेमा हामी ढुक्क छौं,” कुसुमटार निवासी स्थानीय शिक्षक अरुणकुमार थिङले भन्नुभयो, “विकास बिनासबाट नै सरु हुन्छ । अहिले तत्कालका लागि हामीलाई जीवन यापनमा निकै असहज महसुस भए पनि भोलीका दिनमा सम्पूर्ण किसिमको अबसरहरुको व्यग्र प्रतिक्षामा छौं ।”’

उहाँका अनुसार आयोजना अन्तर्गत कुसुमटारबाट १७ घरपरिवार विस्थापित भएका छन् । उनीहरुले अहिले घर पनि बनाउन सकि रहेका छैनन् । उहाँले भन्नुभयो, “घरहरु उखेलिएका छन्, भत्किएका छन् । घर बनाउन भने जस्तो र सोचेजस्तो सुविधा पाउन सकि रहेका छैनन् । काठ, ढुंगा, बालुवा, गिटी पाएका छैनौ । घर बनाउन निकै समस्या परेको छ ।”

आयोजनाबाट सिर्जना हुने सम्पूर्ण अवसरहरु, रोजगारी र शेयर बितरणमा स्थानीयलाई विशेष प्राथमिकता दिनु पर्ने शिक्षक थिङको सुझाव छ । स्थानीयका अनुसार सुनकोशीको पानी मिसाउने मरिण खोला आफैमा ठुलो खोला हो । यसले पटक–पटक गरी दाँयावाँया किनारका हजारौ विघा उर्बर जमिन कटान गरी बगरमा परिणत गराएको छ । आयोजना निर्माण पुरा भएपछि सुनकोशीको पानी मरिण खोलामा मिसाईदा पानीको बहाब झन् बढ्ने भएकोले मरिण खोलादेखि बागमती नदीसम्म दुवै किनारमा तटबन्ध गरिनु पर्ने किसानको माग छ ।

बाग्मती प्रदेश सांसद बिनोद खड्का पनि मरिण खोलाले बिगतदेखि नै दाँयाबाँया उर्बरभूमि कटान गरि रहेकोले आयोजना सञ्चालनसँगै अब पूर्ण रुपमा त्यसको नियन्त्रण हुने देख्नु हुन्छ । उहाँले भन्नुभयो, “मरिण खोलामा सुनकोशीको पानीको बहाब मिसाएपछि त्यसबाट हुने क्षेती, प्रभावलाई व्यवस्थित ढंगले ड्याम अथवा करिडोर निर्माण गरी स्थायी खालको समाधान हुन्छ । यसले नदि कटान अथवा विगतमा भएको क्षतीको अन्त्य हुन्छ ।”

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजना निर्माणसँगै पर्यटकिय क्षेत्रको विकास हुने उहाँको भनाई छ । ‘सुनकोशी नदीमा बाँध निर्माण गरिदा एउटा राम्रो खालको ठूलो ताल बन्छ । त्यहाँ माछा पालनदेखि बोटिङ गर्ने खालको बाताबरण गर्छ । यसले पर्यटकिय क्षेत्रको विकाससँगै रोजगारीको पनि अबसर सिर्जना गर्छ,’ प्रदेश सांसद खड्काले थप्नुभयो ।

कुसुमटारकै बासिन्दा नबराज थिङ पनि उक्त आयोजना निर्माणसँगै स्थानीय उत्साहित बनेको बताउनुहुन्छ । उहाले भन्नुभयो, ‘यो राष्ट्रिय गौरबको आयोजना भएकोले यसलाई गौरबपूर्ण तरिकाले नै सम्पन्न गर्न स्थानीय बासिन्दाले मनस्थिती बनाएका छन् । आफ्नो सिप अनुसारको श्रम पाउनेमा पनि स्थानीय आसाबादी छौं ।’

यता प्रदेश न २ का मुख्य मन्त्री मोहम्बद लालबाबु राउत पनि सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजना निर्माणबाट उक्त प्रदेशका लाखौं जनता लाभान्वित हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो आयोजनाले प्रदेश नं. २ मा विभिन्न किसिमका विकासका गतिविधि सञ्चालन हुने छन् । सर्लाही, महोत्तरी, धनुषा, बारा र रौतहट जिल्लामा एक लाख २२ हजार हेक्टर जमिन बर्षैभरि सिंचित हुने छ ।”

मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ को भूमिमा उत्पादन हुने खाद्यान्नले सिङगो मुलुकको खाद्यान्न समस्या पुरा गर्ने सुनाउनुभयो । “एक लाख २२ हजार हेक्टर जमिन सिंचित हुदा कृषिको उत्पादकत्व बृद्धि हुनेछ । त्यहाँका किसानले समय सापेक्ष बाली लगाउन पाउने छन्,” उहाँले थप्नुभयो । अहिले मुलुकको अर्बौ डलर विदेशबाट खाद्यान्न खरिदमा खर्च भई रहेको र सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यि आयोजनाले उक्त समस्यालाई समाधान गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राउतले भन्नुभयो,“‘अहिले खाद्यान्नका लागि विदेशमा निर्भर रहनु पर्ने जुन समस्या छ । त्यो समस्या अन्त्य हुन्छ । त्यहाँका किसानको उत्पादकत्व बढ्छ । विभिन्न आर्थिक गतिविधि हुन्छ । आयोजना अन्तर्गत उत्पादन हुने ३१ मेघावाट विद्युतले उद्योग धन्दा सञ्चालनमा पनि टेवा पु¥याउछ ।”

त्यस्तै शहरी विकास मन्त्री प्रभु साह पनि सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजनाबाट सिंचाईको सिधा लाभ २ नम्बर प्रदेशले लिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो आयोजनाको उपभोक्ता भएकोले म असाध्यै खुशी छु । म कति खुशी छु, त्यो शब्दमा भन्न गाह्रो भई रहेको छ । लामो सपना भनौ, प्रयास भनौ । आज पुरा भएको छ ।”

तराईका किसानको कृषि पेसा भगवानको भरोसामा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “यो अवस्थालाई नयाँपन दिन, निरासालाई उत्साह दिन, कृषिमा आकर्षण पैदा गर्न, उत्पादनमा आत्मनिर्भर बनाउन उक्त आयोजनाले नयाँ उचाई दिएको ठान्द छु ।’ मन्त्री साहले २ नम्बर प्रदेश अहिले मानब विकास सूचांकमा पछाडी रहेको र यसलाई अगाडी बढाउन सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजनाले ऐतिहासिक योग्दान दिने बताउनुभयो । आयोजना निर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भेरी बबई आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ । आयोजनाको निर्माण कार्य चालु आर्थिक बर्ष ०७७÷०७८ बाट सुरु भई बर्ष ०८२÷०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ । सो आयोजनाको सुरुङ भने टनेल बोरिङ मेशनि (टीबीएम)ले खन्ने आयोजनाले जनाएको छ । यसअघि नेपालको पहिलो आयोजनाको रुपमा रहेका भेरी बबई डाइभर्सन आयोजनामा टीबीएमले सुरुङ खनेको थियो ।

सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गरी सुनकोशी नदीको पानी १३ दशमलब तीन किलोमिटर लामो सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । त्यहाँ ६६ मिटर हेटडबाट पानी झारेर ३१ मेघावाट विद्युत उत्पादन गरिने छ । उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत ढल्केबरमा सबस्टेशनमा जोडिने आयोजनाले जनाएको छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामाएक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउने छ । सरकारले सुनकोशी–मरिण डाइभर्सन आयोजना निर्माण गर्न चालु आर्थिक बर्ष ०७७÷०७८ सरकारले दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आयोजना निर्माण गर्न कूल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्नका लागि झण्डै ३० अर्ब रुपैयाँ लाग्ने बताइएको छ । बाँधबाट निर्माण हुने जलाशयमा माछापालन गर्ने योजना समेत रहेको छ । आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा बितरण लगायतका प्राविधिक सबै काम सकिएको छ । २० हेक्टर जमिन अधिग्रहण गरिएको छ भने १५३ जना किसानलाई मुआब्जा बितरण गरिएको आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया