सिन्धुली,१५ मंसिर – दुधौली नगरपालिका–९ लखिमाडाँडा निवासी ४० वर्षिया मालती सदा प्रांगारिक तरकारी खेतिप्रतिको लगनशिलता र मिहेनतका कारण गाँउभरिमा नै उदाहरणिय महिला कृषक बन्न सफल हुनु भएको छ ।
विभिन्न सामाजिक संघ संस्थाले दिएको तालिमलाइ व्यवहारमा लागु गरि प्रांगारिक खेती तर्फ लागेपछि अहिले घरमा नै बसेर मनग्ये आम्दानी हुन थालेको उहाँको भनाई छ । मुसहर समुदायकी मालति आफ्नो समुदायमा त उदाहरणिय महिला कृषक नै बन्नु भएको छ । आफ्नै खेतबारीमा प्रांगारीक तरकारी खेती गरेपछि सुखका दिन आएको मालतिले बताउनुभयो ।
खेतबारीमा मौसम अनुसारको तरकारी उत्पादन गरी आफुलाई चाहिने बीउको संरक्षण समेत उहाँले गर्नुभएको छ । छ कठ्ठा आफनो खेतबारीमा मात्र नभएर १० कठ्ठा खेत भाडामा लिएर समेत मालतीले तरकारी खेती गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘तरकारीका लागि माछाका भुरा खोज्न खोलामा जाने गरिन्थ्यो, अहिले मजासँग मौसम अनुसारको तरकारीले खेतबारी ढाकेको छ ।’
प्रांगारिक खेति गर्दा तरकारीमा रोग तथा किरा नलाग्ने उहाँको अनुभव छ । विभिन्न रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वराशक्ति घट्दै जाने अनि तरकारीमा पनि विभिन्न रोग लाग्ने सम्मको ज्ञान उहाँले हासिल गर्नु भएको छ । प्राङ्गारिक खेती आफ्नै स्थानीयस्तरका श्रोत, साधन र शिपलाई प्रयोग गरि गरिने खेती भएकाले यो प्रणालीबाट उत्पादित कृषि उपज स्वास्थकर हुनुका साथै माटोको उर्बरा शक्ति पनि जोगिने मालतिले दर्शाउनुभयो ।
एक सय ५० घर परिवार रहेको मुसहर बस्तिमा मालतिको लगनशिलता देखेपछि अरुपनि सिको गर्न थालेका छन । मौसम अनुसार सिमी, बोडि, घिरौला, रायोको साग, चिप्लि भिन्डी, भ्याण्टा, करेला लगायतका तरकारीहरु अहिले मालती लगायतका मुसहर समुदायको खेतबारीमा प्रसस्तै उत्पादन हुनथालेको दुधौली बजार निवासी पूर्वजिविस सदस्य लालबहादुर थापा बताउनुहुन्छ ।
“बेमौसमी तरकारी समेत उत्पादन गर्छु,” अगुवा कृषक मालतीले हौसिदै भन्नुभयो, “विक्रीको कुनै समस्या छैन्, राम्रै आम्दानी भएको छ । चामल बेसाएरै मजाले खान पुग्छ ।” त्यति मात्र कहाँ हो र अहिले मजदुरीका लागि देशका बिभिन्न शहर चाहार्ने मालतीका श्रीमान शुभलाल समेत आफ्नै बारीमा पसिना बगाउन रमाउनु भएको छ । श्रीमतीको लगनशिलताबाट साह्रै उत्साहित हुनु भएका शुभलाल भन्नुहुन्छ, “उत्पादन गर्न जान्ने हो भने पैसा कमाउन टाढा जानु नपर्ने रहेछ ।”
प्रांगारिक खेतीमा लाग्नु भन्दा पहिलेका दुःखका दिन सम्झिदै उहाँ भन्नुहुन्छ, “एक छोरा, श्रीमान र आफू सहित ३ जना सानो परिवार भएपनि सहज तरिकाले जीवन धान्न नसकेपछि मजदुरी गर्न पोखरा लगायत विभिन्न शहरमा जान्थे । घर बस्नेले पनि मजदुरी गरेर पेट पाल्नुको बिकल्प थिएन । तर ३ महिना खान पुग्ने खेतबारीमा प्रांगारिक तरकारी खेती सुरु गरेपछि अहिले कसैको बनिबुतो गर्न जानु परेको छैन ।”