सिन्धुली,३ असोज – दुधौली नगरपालिका–११ धनसरीका दिनेशकुमार कार्की यतीबेला ब्रोइलर कुखुरा पालनमा व्यस्त बन्नु भएको छ ।
झण्डै एक दशक दुवई बसेर स्वदेस फर्किनु भएका कार्कीले सिन्धुलीको कमलामाई नगरपालीका–४ ढुंग्रेबास स्थित फाँटको सीरानमा कुखुरा फारम खोलेर व्यवसाय सुरु गर्नु भएको हो । मनिष एण्ड मनिषा कृषि फारम दर्ता गरी व्यवसाय सुरु गर्नु भएका कार्कीले भर्खरै साँढे ७ लाख रुपैया लगानी गरी सुरु गरेको व्यवसायमा पहिलो लटमा नै डेड लाख जती नाफा भएको सुनाउनुभयो ।
‘अहिले पनि १८ सय चल्ला हालेको छु, कुखुराको हेरचाह गर्न एकजना कामदार पनि राखेको छु । जन्मिएको एक दिनका चल्ला ल्याएर हुर्काउन ज्यादै मुस्किल पर्छ,’ उहाँले भन्नुभयो, “अहिले एक हप्ता पनि नपुगेको चल्ला दैनिक ६/७ वटा मर्ने गरेका छन् । उनीहरुको हेरचाहमा २४ सै घण्टा खटिनुपर्छ । तर परदेशमा भन्दा यहाँ केही गरौँ भनेर लागेका हे रौँ, हेरौँ के हुन्छ ।”
आफ्नो श्रम, पसिना आफ्नै ठाउँमा खर्च गर्न पाउँदा उहाँ दंग पर्नु भएको छ । उहाँ अगाडी थप्नुहुन्छ, “नेपालमा काम गर्ने वातावरण राम्रो छैन । अहिले स्थानिय तह बनेको छ, संघियता आएको छ, तर पनि जनताले खोजेजस्तै चाँही परिवर्तन आएको छैन । नेताको बोली र व्यवहारमा आकाश जमिनको फरक छ ।”
उहाँले विदेशमा पैसा कमाएँ पनि खुसी कमाउन नसएिको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “आफ्नो ठाउँमा कमाई थोरै भएपनि खुसी धेरै छ, आफ्नाहरुको सामिप्यता निकै छ । आफ्नो घर परिवारसँगको सहकार्य छ, श्रीमती, छोराछोरी, बाबा आमाको सुख दुःखलाई हेर्न सकीएको छ ।” व्यवसायी कार्कीले वार्षिक ९० हजार तिरेर एक बिगाहा जग्गा भाडामा लिनु भएको छ । कुखुरा पालनमा लाग्नु भएका कार्कीले राँगा पनि पाल्ने सोचमा बनाउनु भएको छ ।