सिन्धुली,६ साउन – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी किनारको तटिय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।
चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी पानीले भरिएको र फुट्न सक्ने सम्भावना रहेको भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले भोटेकोशी तथा सुनकोशी किनारका वासिन्दालाइ सचेत रहन आग्रह गरेपछि सिन्धुलीमा समेत सतर्कता अपनाइएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रबक्ता एवं प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले उक्त पोखरी भरिएर फुट्दा सिन्धुली जिल्लाको सुनकोसी क्षेत्रका बासिन्दा समेत प्रभावित हुने भएकोले सर्तकता अप्नाईएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उक्त ताल फुट्दा सिन्धुली जिल्ला अन्तर्गत सुनकोसी नदीको तटिय क्षेत्रमा बस्ने सुनकोसी गाँउपालिका, गोलन्जोर गाँउपालिका र फिक्कल गाँउपालिकाका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको हो ।”
“ताल भरिएर फुट्न सक्ने कुरा आएपछि सोमबार राती नै आकस्किम सूचना जारी गरी मैले ती गाँउपालिकाका जनप्रतिनिधिलाई संभव भएसम्म फोन गरेर जानकारी गराए,” उहाँले भन्नुभयो, “बाढीको सम्भावित खतराप्रति सचेत रहन र सुरक्षित स्थलमा सर्न आग्रह गरेका छौं ।”
ताल फुटेर आएमा सुनकोसी नदीमा आउने बाढीले गोलन्जोर गाँउपालिकाको वडा नं. ७ खुर्कोट बसपार्क क्षेत्रमा बसोबास गर्ने करिब दुई सय घरपरिवार जोखिममा पर्ने र त्यहाँ पूर्व सतर्कता अप्नाईएको गाँउपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ताल फुटेर आएमा गोलन्जोर गाँउपालिकाको सुनकोसी नदीको तटिय क्षेत्रमा बसोबास पर्ने बस्तीहरु जोखिममा पर्दछन् ।”
गाँउपालिका अध्यक्ष कार्कीका आनुसार सो पोखरी फुटेको खण्डमा सुनकोशी नदीमा आकस्मिक रुपमा अहिले भइरहेको पानीको सतह भन्दा निकै माथिसम्म पानीको छाल पुग्ने छ । खुर्कोट बसपार्क बजार भन्दा सुनकोशी नदीको बाढी करिब तीन÷चार मीटरमात्र तल रहेको छ । सुनकोशी वारपार ढाकेर छेउमै आएकाले बजार क्षेत्रका करिब दुइसय परिवार त्रासदीमा रहेको अर्का स्थानीय होटल व्यवसायि मुना श्रेष्ठले जानकारी दिनुभयो ।
सुनकोशीमा बाढी आउ“दा सिन्धुलीको सुनकोशी गाँउपालिकाको नेपालथोक, झागाझोली रातमाटा, चैनपुर, खाल्टे, मुलकोट, र गोलन्जोर गाउपालिकाको खुर्कोट, ग्वाल्टार, बितिजोर, डुडभन्ज्याङ, फिक्कल गाउपालिकाको खाङसाङ, लगाएतका क्षेत्रमा कटान गर्ने र नदी किनारमा बसोवास गर्नेहरुलाइ खतरा हुने गरेको स्थानीयको भनाई छ ।
खतराको सूचना प्राप्त भएसँगै सुनकोशी गाउँपालिकाको खासगरी मूल्कोट क्षेत्र आसपास सुरक्षा सतर्कता अपनाइएको उक्त गाँउपालिकाले जनाएको छ । स्थानीय व्यवसायी मनोज श्रेष्ठका अनुसार कोशीमा बाढीको सतह बढ्दै गएको छ । अहिलेसम्मकै ठूलो बाढी सुनकोशीमा देखिएको छ । यतिबेला पनि स्थानीयहरु सुनकोशी किनारमा नदीको बढ्दो बहाव अवलोकन गरिरहेका छन् ।