शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको सुनकोशी गाउँपालिकाद्वारा विद्यालयलाई अपग्रेड

शनिवार , जेठ ३१, २०७७

 

सुनकोशी,(सिन्धुली),३१ जेठ – सिन्धुलीको सुनकोशी गाउँपालिकाले विभिन्न विद्यालयलाई अपग्रेड गर्नुका साथै विद्युतीय सामग्री बितरण गरेको छ ।

उक्त गाँउपालिकाको बिहिबार बसेको बैठकले सात वटा विद्यालयको कक्षा अपग्रेड, १५ वटा विद्यालयलाई विद्युतीय सामग्री बितरण र स्थानीय पाठ्यक्रम निर्माण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

गाँउपालिकाका अनुसार ओद्रेकोटस्थित पञ्चकन्या मावि र प्रगती इङ्लिस बोर्डिङ स्कुललाई कक्षा १० सम्मको अनुमति दिएको छ । त्यस्तै, मुल्कोटस्थित पशुपति आधातभूत विद्यालय र घ्याम्पाटारस्थित आधारभुत विद्यालयलाई कक्षा ८ सञ्चालनको अनुमति दिएको छ ।

त्यसैगरी, आदिलिंग कुशेश्वर गुरुकुलम र फाइफ स्टार बोर्डिङलाई कक्षा सात र प्राथमिक विद्यालय खानीगाउँलाई कक्षा छ अध्यापनको अनुमति दिइएको जनाइएको छ ।

सुनकोशी गाउँपालिकाले विभिन्न विद्यालयलाई आठ ल्यापटप, आठ वटा प्रोजेक्टर र ११ वटा प्रिन्टर प्रदान गर्ने निर्णय गरेको छ । जसअनुसार सहस्रधारा आधारभुत विद्यालय नाँगेडाँडा, कालिका आधारभुत विद्यालय बन्दिपुर, आधारभुत विद्यालय काँसीखर्कले एक÷एक वटा ल्पापटप र प्रिन्टर पाउने भएका छन् । पशुपति आधारभुत विद्यालय मूलकोटले एक वटा प्रोजेक्टर, ल्यापटप र प्रिन्टर पाउने भएको छ ।

विनायक आधारभुत विद्यालय कालिमाटी, कपिलेश्वर आधारभुत विद्यालय ढुंगेचौर र कुशेश्वर मावि दुम्जाले एक÷एक वटा प्रिन्टर पाउने भएका छन् । आधारभुत विद्यालय ध्याम्पाटार, दीर्घप्रदिप मावि खाल्टे र ग्रामकाली मावि अमारेले एक÷एक वटा प्रोजेक्टर र प्रिन्टर पाउने भएका छन् । महाकाली आधारभुत विद्यालय गौखर्कले एउटा ल्यापटप पाउने भएको छ ।

त्यसैगरी गणेश मावि मझुवा र गणेश मावि थपाथुम्काले एक÷एक वटा प्रोजेक्टर र ल्यापटप पाउने भएका छन् । पञ्चकन्या आधारभुत विद्यालय घुमाउने चैनपुरले एक÷एक वटा ल्यापटप र प्रिन्टर पाउने भएको छ । देवीस्थान मावि बालुवाले भने एउटा प्रोजेक्टर पाउने गाँउपालिका शिक्षा शाखाद्वारा विज्ञप्तीमा जनाईएको छ ।

गाँउपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न गाँउपालिका सामाजिक विकास समितिका सभापति रामचन्द्र आचार्यको संयोजकत्वमा ११ सदस्य कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यहरुमा शंकर उप्रती, विनोद कोईराला, रिता देवकोटा, बिमल पौडेल, तुलसी प्याकुरेल, विनोद न्यौपाने, नेत्रबहादुर सुनुवार, शेरबहादुर लामा, खेलबहादुर पुलामी र सदस्य सचिबमा ओमप्रसाद गौतम रहनु भएको छ ।

शिक्षा शाखाका शाखा अधिकृत एवं कार्यदलका सदस्य सचिब ओमप्रसाद गौतमका अनुसार उक्त कार्यदलले चालु शैक्षिक सत्रबाटै पाठ्यक्रम ल्याउने छ । उहाँले भन्नुभयो, “कक्षा सुरु हुदा विद्यार्थीलाई दिन्छौ । केन्द्रको पाठ्यक्रमले नसमेटेको स्थानीय तहमा उपलब्ध भाषा, संस्कृती, जनजीवन, कृषि र पर्यटन जस्ता कुरालाई समेटेर स्थानीय पाठ्यक्रम बनाईने छ ।”

नयाँ शैक्षिक सत्र सुरु हुदा विद्यार्थी कक्षामा आउदा नयाँ पाठ्यक्रम दिईने पनि उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया