शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

गाउँमा खानेपानी आउने पक्का भएपछि उपभोक्तामा खुशियाली

सोमवार , जेठ २६, २०७७

पोखरी,(सिन्धुली),२६ जेठ – खानेपानीको चरम समस्या भोग्दै आएका फिक्कल गाउँपालिका–२ पोखरीका बासिन्दामा यतिखेर गाउँमै सुनकोसीको पानी खसाल्न लिफ्ट खानेपानी योजना निर्माणसँगै खुशियाली छाएको छ ।

गाउँपालिकाको ६० लाख रुपैया सहयोगमा सुकोसीको नबलपुरबाट झण्डै ५२० मिटर माथि गाउँमा फ्याकेर खानेपानी खुवाउन योजना निर्माणसँगै उनीहरुमा खुशियाली छाएको हो । योजना निर्माणसँगै चण्डिभञ्ज्याङ, डडुवा, बबला र गैरीगाउँका करिब १५० घर धुरीमा खुशीयाली छाएको स्थानीय सुम्नाम मावि चण्डिभञ्ज्याङका प्रधानाध्यापक टेकबहादुर थापाले सुनाउनुभयो ।

उहाँले उक्त योजना अहिले अन्तिम चरणमा पुगेकोले सुनकोसीको पानी पिउने यि गाउँको सपना पुरा हुने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानीकै समस्याले गाउँका युवाले विहे गर्न खोज्दा कसैले छोरी चेली दिन हम्मेसी मान्दैन्थे । पानी बेच्ने, छोरी बुहारीको प्याओ भन्ने आरोप पनि खेपेको थिए ।”

गाउँमा खानेपानी ल्याएको बल्छे खोलाको मुहान भु कम्पले सुकेपछि सुनकोसी र खोलोका पानी घण्टौ बोकेर खानु पर्ने अवस्था समेत सिर्जना भएको उहाँले सुनाउनुभयो । अहिले भने सुनकोसीको पानी एकस्टेप माथि फाल्ने काम बाँकी रहेको पनि प्रअ थापाले बताउनुभयो । उहाँका अनुसार अब भन चार गाउँवासीका आँगनमा सुनकोशीको पानी झर्ने पक्कापक्की भएको छ ।

सुनकोशीको नवलपुरबाट पानी लिफ्टगरी ३५० मिटर माथि फाल्न प्राविधिकहरुलाई सफलता मिलेको गाउँपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार अब पानी खसेको ठाँउमा ईन्टेक निर्माण गरी त्यहाबाट माथि १७० मिटर पानी फ्या केर रिजर्भ ट्यांकी निर्माण गरी गाउँमा खानेपानीकोको पाईप लाईन बिस्तार गर्ने योजनाको काम बाँकी छ ।

त्यो काम पनि यही असार महिनाभित्र सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । गाउँपालिकाका अनुसार ५० हजार घनमिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना रहेको छ । प्रति सेकेन्ट चार लिटर पानी फ्याल्ने क्षमताको मोटर जडान गरिएको छ । तल्लो ट्यांकीबाट समेत पानी वितरण गर्ने योजना रहेको छ ।

त्यस्तै सबैको घरमा प्लाष्टिक पोखरी निर्माण गरी सिंचाईको सुविधासमेत पु¥याइने योजना रहेको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गाउँपालिकाले सो आयोजनाको लागि आर्थिक वर्ष २०७५/०७६ मा ५० लाख र आर्थिक वर्ष २०७६/०७७ मा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । सो रकमबाट नवलपुरमा इनार निर्माण, त्यसको सुरक्षा, मोटर, पाइप र बिद्युतको ट्रान्सफर्मर खरिद गरिएको थियो । सो आयोजनामा गाउँलेको श्रमदानसमेत गरेका छन् ।

खानेपानीलाई मिटरको व्यवस्था गरी वितरण गरिने र त्यसको व्यवस्थापन उपभोक्ता समितिले गर्नेसमेत उपाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । दुर्गम गाउँमा भर्खरै बिद्युत सुविधा पुगेकाले खानेपानी तथा सिंचाईका लागि सुनकोशीको पानी लिफ्ट गर्न सुविधा पुगेको हो ।

प्रतिक्रिया