सिन्धुली ,२२ फागुन— कमलामाइ नगरपालिका ५ की एक होटल संचालिकाले एकैपटक ६० मुरी कोदो गाउबाट ल्याउनु भएको छ । पहिला नै कोदोको लागि बैना दिएकाले भनेजति उहाँले पाउनु भएन । मरिण गाउँपालिकाको बेल्टारबाट कोदो झिकाएकी उहाँलाइ घरेलु मदिरा बनाएर विक्री गर्नका लागि त्यति कोदो पनि पर्याप्त हु“दैन् । भनेजती कोदो पाइदैन्, त्यै भएर अगाडि नै बैना (केहि रकम पेश्की) दिने गरिएको छ, उहाले भन्नु भयो, “ बैना दिएपछि कृषकले अर्कोलाइ विक्री गर्दैनन्, ढुक्क हुन्छ ।”
घरेलु मदिराको लागि कोदो सबैभन्दा उत्तम मानिन्छ । लोकल रक्सी, तोङ्वा, निगार, जाड लगाएतका मदिराका परिकारहरु कोदोबाट बनाइने गरेको छ । निखार कोदोको भनेपछि मदिराका पारखीहरु हुरुक्कै हुन्छन्, तिनै होटल संचालिकाले थप्नु भयो, “ कोदोको छ है भनेपछि धाएर खान आउछन्, अन्य अन्नहरु मकै, चामल भन्दा कोदोको मदिराका परिकारले ग्राहक तान्दछ ।” घरेलु मदिरा बनाएर विक्री गर्न कानूनले भने वर्जित गरेको छ ।
मदिरा बनाउनेहरुका लागि मात्र हैन्, खेती गर्नेलाइ समेत यतिखेर नगदेवालीमा कोदो दरिएको छ । हेपिएको अन्नबालीमा पर्ने कोदोखेतीबाट कृषकले मनग्ये आम्दानी लिएका छन् । गोलन्जोर गाउपालिका ४ तीनकन्याका कृषकहरुले कोदो खेतीबाट आम्दानी लिएका हुन् । तीनकन्यामा खालीपाखामा र जुनार, सुन्तलाको बगैंचा भित्र समेत कोदो खेती हुने गरेको छ ।
तीनकन्या माझकुभिण्डेका कृषक जीतबहादुर ठकुरीका अनुसार केही वर्ष अघिसम्म कोदो बालीलाइ तल्लो स्तरको खेतीको रुपमा लिइन्थ्यो । उत्पादन भएको कोदो विक्री नभएपछि गाइबस्तु तथा सुंगुरलाइ खोले बनाएर खुवाउने चलन थियो । यतिखेर उत्पादन भएको कोदो कतै विक्री गर्न लैजान पर्दैन्, उनले भने, ‘बारीमा नै ग्राहक आएर पहिला नै बैना मार्ने चलन बसिसक्यो ।
पाखाबारीमा धानको सिजनमा कोदो खेती नै गरिन्छ, स्थानीय वृद्ध गुण्डबहादुर ठकुरीले भन्नु भयो,“तुच्छ मानिएको कोदो खेती यतिखेर उम्दा भएको छ ।” जुनार, सुन्तलाको बगैंचा बिस्तार स“गै कोदो खेती पनि त्यसमै गर्ने चलन छ । बीरुवा बढेर फल नदिउन्जेल बगैंचा भित्रै कोदो खेती हुने गरेको कृषकहरु बताउछन् ।
जुनारको बगैंचा भित्रको खाली जग्गामा मज्जाले खेती गर्न सकिने उहाँहरुको भनाइ छ । धेरै जुनार लगाउनेले कोदो खेती नगरेपनि सानो बगैंचा हुनेका लागि अपरिहार्य जस्तै छ । रानीखोलाका कृषक रुपचन्द्र गुरुङका अनुसार धानसग साट्न नमान्ने कोदोको भाउले कृषकहरुमा उत्साह भरिएको छ । उहाँले भन्नु भयो,“धान भन्दा कोदो महंगो पर्छ, सिजनमा एकसय २० रुपैंया पाथीको विक्री हुन्छ , जबकी धानको मूल्य सय पनि पुग्न सकेको छैन् ।”
कोदोबाट घरेलु मदिरा उत्पादन हुने भएकाले समेत माग उच्च रहेको छ । कोदो नगदेबाली भैसक्यो, उनै कृषक गुरुङले भन्नुभयो, “जती उत्पादन भएपनि विक्री भैहाल्छ । बजारको कुनै समस्या छैन् ।’ कोदोको नल चौपायाका लागि राम्रो घास मानिन्छ । महाभारत उत्तरतर्फ कोदो खेती हुने गरेको छ । पानी नलाग्ने भिरालो जमिनमा कोदोको उव्जाउ राम्रो हुने गरेको कृषकहरुको भनाइ छ ।
तीनकन्याका अलावा, रतनचुरा, वाशेश्व, भुवनेश्वरी, बितिजोर, डुडभन्ज्याङमा समेत कोदो खेती हुने गरेको छ । जिल्लाका ९ वटै स्थानीयतहमा कोदो खेती हुने गरेपनि व्यवसायीक भने छैन् । एक रोपनीमा सरदर चारमुरी कोदो उत्पादन हुने गरेको छ । मिहिनेत गरेमा तीनदेखि चार मुरी कोदो प्रति रोपनी उव्जाउ गर्न सकिने स्थानीय शिक्षक लेखबहादुर बस्नेतको भनाइ छ । यातायातका साधन गाउगाउ“मा पुगेपछि कोदो खेतीप्रति कृषकमा आकर्षण बढेको हो ।
उता अबैध घरेलु मदिराका कारण समाजमा विकृती फैलिएकोले जिल्ला भरि नै बरामद गरि नष्ट गर्ने अभियान चलाइने प्रहरी उपरिक्षक रञ्जु सिग्देलले जनाउनु भयो ।