सिन्धुली,१९ फागुन – सिन्धुली जिल्लामा भुकम्प पि’डित प्रबलिकरणका लाभग्राहीले घर मर्मतका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट अनुदान रकम पाउन सकिरहेका छैनन् ।
प्रबलिकरणका लाभग्राहीलाई दुई किस्तामा घर मर्मतका लागि एक लाख रुपैया अनुदान दिने व्यवस्था भएपनि बजेट अभावमा उक्त रकम दिन नसकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार नेपाल सरकारले भुकम्प पि’डित लाभग्राहीलाई अनुदान दिन चालु आर्थिक बर्ष ०७६/०७७ का लागि २८ करोड ७६ लाख रुपैया बजेट छुट्याएकोमा त्यो रकम सबै बितरण गरी सकेपछि पछिल्लो समयमा सम्झौता गरेका प्रबलिकरणका लाभग्राहीले अनुदान रकम नपाएका हुन् ।
“प्रबलिकरणका लाभग्राहीको एक हजार भन्दा बढी फाईल चाङ लागेर बसेको छ, बजेट नभएर पहिलो किस्ता ५० हजार रुपैया नै दिन सकिएको छैन,” निमित्त कार्यालय प्रमुख सुर्यप्रकास बिष्टले भन्नुभयो, “सुरु सुरुमा सम्झौता गर्नेले पहिलो किस्ता लगे, पछिल्लो समयमा सम्झौता गर्नेले रकम पाई रहेका छैनन् ।”
भुकम्प गएको चार बर्षभन्दा बढी भएपनि प्रबलिकरणका लाभग्राहीले यो बर्षदेखि मात्रै घर मर्मत गर्न सुरु गरेकाले रकम अभाव भएको उहाँको भनाई छ । अब तेस्रो चौमासिकको रकम निकासा भएर नआएसम्म उक्त रकम बितरण गर्न नसकिने उहाँले सुनाउनुभयो ।
कार्यालयका अनुसार सिन्धुली जिल्लामा प्रबलिकरण तर्फका लाभग्राही १४ हजार ४४१ रहेका छन् । ती मध्ये घर मर्मतका लागि ११ हजार २७० जनाले सम्झौता गरेका छन् । अहिले सम्झौता गरी कार्यालयमा रहेका एक हजार भन्दा बढी लागभग्राहीलाई पहिलो किस्ता रकम दिन पाँच करोड भन्दा बढी रकम आवश्यक परेको छ ।
कार्यालयका लेखापाल तिलक कार्कीले सम्झौता गरेका प्रबलिकरणका लाभग्राही रकम कहिले आउछ भनेर दैनिक रुपमा कार्यालयमा बुझ्न धाई रहेको बताउनुहुन्छ ।
तेस्रो चौमासिकमा बितरण गर्ने सहित सिन्धुली जिल्लामा नेपाल सरकारको बार्षिक बजेट २८ करोड ७६ लाख रुपैया रहेको र त्यो मध्ये प्रबलिकरण तर्फको एक करोड ७६ लाख रुपैया रहेको उहाँले सुनाउनुभयो ।
“सम्झौता गरेका सबैलाई रकम दिदै जाँदा नेपाल सरकारतर्फको तेस्रो चौमासिक सहितको सबै बजेट सकिएछ,” उहाँले भन्नुभयो, “कारबाहीमा पर्ने डरले कोष तथा लेखा नियन्त्रक कार्यालयले दोस्रो चौमासिकसम्ममा १८ करोड ८० लाख रुपैया खर्च देखाएर बाँकी रकम आइडिए (दातृ निकाय विश्व बैंक) शिर्षकबाट तानेर राखेको छ ।”
दोस्रो चौमासिकमा तेस्रो चौमासिकको समेत बजेट खर्च देखाउन नमिल्ने भएको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालयले दोस्रो चौमासिकसम्ममा १८ करोड ८० लाख रुपैया खर्च देखाएर बाँकी रकम आइडिए शिर्षकबाट तानेर राखेको उक्त कार्यालयले जनाएको छ ।
अहिले तेस्रो चौमासिकको रकम अर्थ मन्त्रालयबाट निकासा मागको प्रक्रियामा रहेको पनि कार्यालयले जनाएको छ । लेखापाल कार्कीका अनुसार पुननिर्माण तर्फ तीन लाख रुपैया अनुदान पाउने लाभग्राहीले भने आईडिए शीर्षकबाट अनुदान पाई रहेका छन् ।