शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

राष्ट्रका गहना उत्पादन गर्न खेल सप्ताह

आइतवार , पौष २०, २०७६

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) सिन्धुलीले सोमबारबाट सप्ताहव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको छ । सातौं प्याव्सन खेलकुद प्रतियोगितामा जिल्ला भरिका २२ विद्यालयको सहभागिता रहने प्याव्सन जिल्ला अध्यक्ष राजेश मास्केले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । खेलकुद सप्ताहमा तीनसय ५० खेलाडी विद्यार्थीहरुको सहभागिता रहने छ ।

प्याव्सन खेलकुद प्रतियोगिता अन्तर्गत जुनयरतर्फ सिक रेस, हिसाव दौड एकसय मिटर र रिलेमा ४ सय मिटरसम्मको हुनेछ । त्यस्तै छात्रातर्फ निडल दौड, हिसाब दौड, स्पोन दौड रहेको छ । सिनियरतर्फ छात्र,छात्राको सटफुट, हाइजम्प, लङ्गजम्प, रिले दौड, तथा छात्र, छात्राको भलिवल खेल हुनेछ । अध्यक्ष मास्केका अनुसार विद्यार्थीहरुमा खेलकुदप्रति रुचि जागृत हुन गइ जिल्ला, क्षत्रिय र राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भइ त्यसमा भाग समेत लिएको दृष्टान्त प्याव्सन सिन्धुलीको रहि आएको छ ।

खेलाडी उत्पादनले राष्ट्रका गहना सावित भइ भविष्यमा देशकै नाम राख्न सफल हुनेमा प्याव्स सिन्धुली विश्वस्त रहेको अध्यक्ष मास्केको भनाइ छ । प्याव्सन सिन्धुलीका खेलकुद संयोजक भानुभक्त गुरुङका अनुसार विगत १० वर्षदेखि प्याव्सन सप्ताह हुदै आएको छ । विद्यार्थीहरुलाइ किताबी ज्ञान मात्र पर्याप्त नहुने कुरालाइ प्याव्सन सिन्धुलीले सधै हृदंगम गरेको र अतिरिक्त क्रियाकलापमा खेलकुदलाइ पहिलो प्राथमिकता दिएको संयोजक गुरुङले सुनाउनुभयो ।

कमलामाइ नगरपालिका ६ को खुल्लामञ्च प्राङ्गणमा हुने खेलकुद प्रतियोगिताको नगरप्रमुख खड्गबहादुर खत्रीले सोमबार बिहान ८ बजे उद्घाटन गर्नेछन । उद्घाटन कार्यक्रम विद्यार्थी, अभिभावक, खेलप्रेमी तथा अन्य महानुभावहरुको उपस्थिती रहने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया