शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजाद स्मृति फुटबल प्रतियोगिता कात्तिक १ गतेबाट

बुधवार , आश्विन २९, २०७६

सिन्धुली जिल्लामा अहिलेसम्मकै ठूलो पुरस्कार रासी भएको सहीद ऋषिराज देवकोटा आजाद स्मृति फुटबल प्रतियोगिता कात्तिक १ गतेबाट सुरु हुने भएको छ ।

कमलामाई नगरपालिका–९ भिमानस्थित आयोजक भिमान युवा क्लबले बुधबार पत्रकार सम्मेलन गरि कात्तिक १ गतेदेखि ९ गतेसम्म सहीद ऋषिराज देवकोटा आजाद स्मृति फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको जनाएको छ ।

यो बर्षको बिजया दशमी, दिपावली र छठ् पर्वको पावन अवसरमा उक्त फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको पक्रकार सम्मेलनमा क्लबका सचिब दिनेश न्यौपानेले जानकारी गराए । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ७५ हजार रुपैया नगदसहित शिल्ड र प्रमाणपत्र र दोस्रो हुने टिमलाई ७५ हजार रुपैया नगद, शिल्ड तथा प्रमाणपत्रको व्यवस्था रहेको पनि उनले सुनाए । यो सिन्धुली जिल्लामा अहिलेसम्मकै ठूलो रासीको प्रतियोगिता भएको उनको दावी छ ।

सहीद ऋषिराज देवकोटा आजाद स्मृति फुटबल प्रतियोगितामा सिन्धुली, सुनसरी, महोत्तरी, ललितपुर, बारा, रामेछाप, धनुषा र धनकुटा जिल्लाका गरि १६ वटा टिमले नाम दर्ता गराएको क्लबका सचिब न्यौपानेले बताए । उक्त टिम मध्ये नौ वटा सिन्धुली जिल्लाका र बाँकी एक/एक वटा बाहिरी जिल्लाको टिम रहेको छ ।

नक आउट सिस्टममा खेलाईने उक्त फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा कमलामाई नगरपालिका र सह प्रायोजकको रुपमा नेपाल आईस बियर र सिजी सिमेन्ट रहेका आयोजक क्लबले जनाएको छ । प्रतियोगिता भिमानस्थित जनजागृती माविको खेल मैदानमा खेलाईने छ ।

टाढाबाट आएका बाहिरी जिल्लाका टिमलाई खान, बस्न र यातायात खर्चको सुविधा रहेको क्लबका अध्यक्ष रबिन्द्र माझीले बताए । प्रतियोगिता सञ्चालन गर्न करिब नौ लाख रुपैया लाग्ने अनुमान गरिएको उनको भनाई छ । उनका अनुसार उक्त क्लबले यो भन्दा अघिपनि दशैंतीहार लक्षित गरि दुई पटक फुटबल प्रतियोगिता गरेको थियो ।

प्रतियोगिता सञ्चालन गर्न कमलामाई नगरपालिकाले बार्षिक बजेटबाट चार लाख रुपैया, मेयर कोषबाट एक लाख रुपैया र सह प्रायोजकले ५० हजार रुपैया उपलब्ध गराएका छन् । बाँकी बजेट स्थानीय संघसस्थाबाट सहयोग मागिने क्लबका अध्यक्ष माझीले जानकारी दिए ।

उक्त पत्रकार सम्मेलनमा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले नगरपालिकाले यो बर्ष खेलकुदको बिकासका लागि ५० लाख रुपैया छुट्याएको बताए । नगरपालिकाका १४ वटै वडामा खेलमैदान निर्माण गरि नगरपालिका भित्रका सबै खेलकुदलाई व्यवस्थित गर्ने योजना रहेको उनको भनाई छ ।

“अब नगरपालिकाभित्रका १४ वटै वडामा क्लब गठन गरि प्रतिस्पर्धा गराईने छ,” उनले भने, “कुनै प्रतियोगिता गर्दा आर्मी, पुलिसको उपस्थितीलाई मात्रै न्युनिकरण गर्न खोजिएको हो ।” स्थानीय सरकारले खेलकुद प्रतियोगितालाई पनि प्राथमिकता दिएर बजेट छुट्याएको उनले बताए ।

उक्त प्रतियोगितामा सहभागि हुन आउने बाहिरी जिल्लाका टिमहरुमा अल स्टार क्लब धरान सुनसरी, बर्दिबास फुटबल समिति महोत्तरी, लगनखेल युवा क्लब ललितपुर, एफ.सि.सिमरा बारा, न्यु स्टार युवा क्लब रामेछाप, चाँदनी युवा क्लब धनुषा र सगरमाथा युवा क्लब धनकुटा रहेको आयोजक क्लबले जनाएको छ ।

प्रतिक्रिया