बिहिवार, कार्तिक १३ गते २०८३

Thursday 29th October 2026

मौसम पुर्वानुमान

अर्णव चक्रवातको जोखिममा नेपाल, हिमाली क्षेत्रमा भीषण हिमपातको चेतावनी

बिहिवार , कार्तिक १३, २०८३

काठमाडौँ,१२ कात्तिक – बङ्गालको खाडीमा विकसित शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवातको असर बुधबार बिहानदेखि सुरु भएको हो । कात्तिक १३ र १४ गतेसम्म प्रभाव तीव्र हुने अनुमान गरिएको छ । यसैबीच बङ्गालको खाडीको पूर्वी क्षेत्रमा अर्को शक्तिशाली न्यूनचापीय प्रणाली विकसित भएकाले वर्षा र हिमपातको जोखिम थप बढेको छ ।

मौसमविद् विनु महर्जनका अनुसार लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा अत्यधिक हिमपात तथा हिमआँधीको सम्भावना रहेकाले विभागले तीन दिन मानवबस्तीसम्बन्धी गतिविधि र पर्यटन कार्य रोक्न अपिल गरेको छ । ती क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ । मौसमविद् निष्ठा निरौलाले पहाडी तथा तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षा र भारतको बिहारनजिकका क्षेत्रमा हावाहुरीसहित वर्षा हुन सक्ने बताइन ।

जलविज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. राजन भट्टराईका अनुसार तीन हजार मिटरभन्दा माथि रहेका करिब २३ स्वचालित हिममापन केन्द्रको अवस्थाबारे अद्यावधिक जानकारी लिइएको छ । वर्षा र बाढीभन्दा हिमआँधीको जोखिम बढी देखिएकाले हिमाली क्षेत्रको अनुगमनलाई प्राथमिकता दिइएको छ । हिमपातको परिमाण तत्काल यकिन गर्न कठिन भए पनि बिहार आसपास पुगेपछि चक्रवातको प्रभाव भारतको तुलनामा नेपालमा केही कमजोर हुने अनुमान छ । प्रणाली छरिएर फैलिने वा कुनै क्षेत्रमा केन्द्रित हुने अवस्थाले वर्षा र हिमपातको मात्रा निर्धारण गर्ने उहाँको भनाइ छ । दुवै मौसमी प्रणालीको प्रभाव बिहीबार रातिदेखि देखिने अनुमान गरिएको छ ।

सम्भावित पहाडी क्षेत्रमा एक सय मिलिमिटरभन्दा बढी वर्षाले पहिरो निम्त्याउन सक्ने भएकाले पूर्वानुमान र सतर्कता सूचना जारी गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार खहरे तथा स्थानीय खोलामा आकस्मिक बाढीको निगरानी सुरु गरिएको छ ।

दसैँअघि आएको शक्तिशाली न्यूनचापीय प्रणालीका कारण सगरमाथालगायत उच्च हिमाली क्षेत्रमा आठ फिटभन्दा बढी हिउँ परेको थियो । अहिले चक्रवातको अवस्था रहेकाले त्यसभन्दा बढी हिमपात हुन सक्ने केन्द्रको आकलन छ । भारतको मौसम विज्ञान विभागले चक्रवातको गति प्रतिघण्टा १५० देखि १७० किलोमिटर रहने अनुमान गरेको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मौसम विभागका मौसमविद् विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडेलले ठूलो हिमपातसँगै वर्षाको सम्भावना देखाएको बताउनुभएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा सतर्कता अपनाउन आग्रह गरेको छ । चट्याङ, हावाहुरी, भारी वर्षा, हिमआँधी र हिमपहिरोको जोखिमसँगै धान काट्ने तथा भित्र्याउने काम प्रभावित हुन सक्ने जनाइएको छ । पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेकालाई सुरक्षित स्थानमा बस्न भनिएको छ । आवश्यकताअनुसार सडक यातायात बन्द गर्नुअघि सर्वसाधारणलाई पूर्वजानकारी दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नगराउन र निषेधित क्षेत्रमा पदयात्रा अनुमति स्थगित गरिएको निर्णय पालना गर्न ट्रेकिङ एजेन्सी, पदयात्री र पथप्रदर्शकलाई प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिक्रिया