सिन्धुली,२६ असोज – मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८३ असोजअन्तर्गत सिन्धुली जिल्लामा मतदाता नामावलीबाट १ हजार २ सय ३२ जनाको नाम हटाइएको छ । स्थानीय तहका वडा पञ्जिकाधिकारीको कार्यालयबाट प्राप्त विवरणका आधारमा मृत्यु भएका मतदाता तथा मतदाता नामावलीमा दोहोरो नाम समावेश भएका व्यक्तिहरूको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार मतदाता नामावलीलाई व्यवस्थित, शुद्ध र विश्वसनीय बनाउने उद्देश्यले सञ्चालन गरिएको अद्यावधिक प्रक्रियाका क्रममा सम्बन्धित स्थानीय तहका वडा पञ्जिकाधिकारी कार्यालयबाट प्राप्त अभिलेखको अध्ययन गरी आवश्यक छानबिनपछि मृतक मतदाता तथा दोहोरो विवरण भएका मतदाताको नाम सूचीबाट हटाउने निर्णय गरिएको हो ।
कार्यालयले मतदाता नामावलीमा आफ्नो वा परिवारका सदस्यको नाम जाँच गर्न सबै नागरिकलाई आग्रह गरेको छ । अद्यावधिक प्रक्रियाका क्रममा कुनै प्राविधिक त्रुटि वा अन्य कारणले योग्य मतदाताको नाम गल्तीवश हटाइएको भएमा तत्काल जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जारी गरेको सूचनामा भनिएको छ, “आफ्नो र परिवारको नाम हेरी त्रुटीवश तपाईँको नाम मतदाता नामावलीबाट हटाइएको छ भने यथाशीघ्र जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा सम्पर्क गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”
निर्वाचन प्रणालीलाई पारदर्शी, विश्वसनीय र त्रुटिरहित बनाउन मतदाता नामावलीको नियमित अद्यावधिक आवश्यक हुने भएकाले नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण हुने कार्यालयले जनाएको छ । मतदाता नामावलीमा रहेका विवरणहरू सही भए मात्र आगामी निर्वाचन प्रक्रियालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने विश्वास निर्वाचन कार्यालयको छ ।
कार्यालयले नागरिकलाई आफ्नो व्यक्तिगत विवरण तथा परिवारका सदस्यहरूको नाम मतदाता नामावलीमा समावेश भए–नभएको यकिन गर्न र कुनै समस्या देखिएमा ढिलाइ नगरी सम्बन्धित निकायमा जानकारी गराउन पुनः आग्रह गरेको छ । सिन्धुलीमा ९ वटा पालिका र २ निर्वाचन क्षेत्र रहेका छन् ।