बिहिवार, आश्विन २२ गते २०८३

Thursday 8th October 2026

खैरो हेरोइन १०१.५३० ग्राम सहित ३ पक्राउ

बुधवार , आश्विन २१, २०८३

विराटनगर,२१ असोज — भारतको फत्तेपुर क्षेत्रबाट सुनसरीको देवानगञ्ज हुँदै सीमाना नाकाबाट नेपाल भिœयाइएको १०१.५३० ग्राम लागुऔषध खैरो हेरोइनसहित १ भारतीय नागरिकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेशका पहाडी जिल्लालाई केन्द्र बनाएर खैरो हेरोइन बिक्री–वितरण गर्दै आएको गिरोहबारे गोप्य सूचना संकलनका क्रममा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले बुधवार  मोरङको विराटनगर महानगरपालिका–११ बाट उनीहरूलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंले जनाएको छ  ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक जिवन निरौलाका अनुसार पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, नरपतगञ्ज थाना क्षेत्रका २३ वर्षीय रिजवान अहमद इलरीसी तथा सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय आरविन्द्र यादव र सोही स्थानका २३ वर्षीय अनिल यादव छन् ।

प्रहरीले उनीहरूको साथबाट १०१.५३० ग्राम खैरो हेरोइन र ३ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया