शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

देउवा गुट छोडेका होइनौं, मूलधारमा फर्किएका हौं : श्याम घिमिरे

शनिवार , आश्विन ३, २०८३

काठमाडौं,०३ असोज — नेपाली काँग्रेसका नेता श्याम घिमिरेले आफूहरू पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह छाडेर सभापति गगन थापा नेतृत्वको समूहमा प्रवेश गरेको भन्ने धारणा अस्वीकार गर्दै पार्टीको मूलधार र नियमित प्रक्रियामा सहभागी भएको बताएका छन् । उनले आफूहरू कुनै गुट परिवर्तन गरेर नयाँ समूहमा नगएको स्पष्ट पार्दै काँग्रेसभित्रै रहेर महाधिवेशनको प्रक्रियामा सहभागी भएको दाबी गरेका हुन् ।

घिमिरेका अनुसार पार्टीको वास्तविक मूलधार भनेको महाधिवेशन र संस्थागत प्रक्रिया भएकाले आफूहरू त्यही प्रक्रियामा सहभागी हुन आएको बताए । उनले भने, “हामीले शेरबहादुर देउवाको गुट छोडेर गगन थापाको गुटमा प्रवेश गरेका होइनौं । हामी पार्टीमै, पार्टीको मूलधारमा आएका हौं । पार्टीको मेनस्ट्रिम भनेको महाधिवेशन हो, त्यसमा सहभागी भएर पार्टी प्रक्रियामा अघि बढेका हौं ।”

पछिल्लो समय आफूहरूमाथि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट विगतमा देउवा समूहबाट लाभ लिएको र अहिले समूह परिवर्तन गरेको आरोप लाग्ने गरेकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । केही टिप्पणीहरूमा आफूहरूलाई ‘जुम्रा’ जस्तो उपमा दिइएको उल्लेख गर्दै उनले त्यस्ता आरोपको खण्डन गरे ।

“हामीले के चुस्यौं ? हामी नेपाली काँग्रेस हौं । यो पार्टी निर्माणमा हाम्रो पनि वर्षौंको योगदान र लगानी छ,” घिमिरेले भने । उनले आफूहरू अवसरका आधारमा समूह परिवर्तन गर्नेभन्दा पनि पार्टीभित्रका विचार र प्रक्रियामा विश्वास गर्ने धारणा राखे ।

नेता घिमिरेले काँग्रेसभित्र देखिएका असहमति र वैचारिक मतभेदलाई आन्तरिक छलफलबाट समाधान गर्नुपर्ने पक्षमा आफूहरू रहेको बताए । उनले आफूहरू सुरुदेखि नै पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै पार्टीभित्रै रहेर फरक विचारका साथ संघर्ष गर्ने बताएका छन् ।

“हामी कतै पार्टी छोडेर आएका होइनौं । विगतमा केही असहमति थिए र त्यसका लागि हामीले आवाज उठायौं । तर पार्टी फुटाउने कुरासँग हाम्रो सहमति छैन । विचार समूहका फरक धारणा हुन सक्छन्, तर पार्टी विभाजनको बाटोमा जान सकिँदैन,” उनले भने ।

अधिवेशन प्रक्रियाका विषयमा अदालतमा पुनरावलोकनको निर्णय नआएसम्म रोक्न आग्रह गरिएको भए पनि प्रक्रिया अगाडि बढेपछि आफूहरू सहभागी भएको घिमिरेले बताए । उनका अनुसार निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको र सर्वोच्च अदालतले पनि त्यसलाई मान्यता दिएको अवस्थामा पुनरावलोकनको निवेदन विचाराधीन रहे पनि अधिवेशन प्रक्रिया रोकिएन ।

उनले अदालतको अन्तिम निर्णय नआएसम्म अधिवेशन स्थगित गर्न आग्रह गरिएको भए पनि प्रक्रिया अघि बढिसकेपछि त्यसबाट अलग रहनु पार्टीको संस्थागत प्रक्रियाबाट बाहिरिनु हुने भएकाले सहभागी हुनुपरेको बताए ।

“अधिवेशन अघि बढिसकेपछि त्यसमा सहभागी नहुनु भनेको पार्टीको प्रक्रियाबाट बाहिरिनु हो। पार्टीको प्रक्रियाबाट बाहिरिनु भनेको राजनीतिक यात्राबाटै अलग हुनुजस्तै हुन्थ्यो,” घिमिरेले भने ।

प्रतिक्रिया