शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बीपी राजमार्गमा हाइस दुर्घटना, चार घाइते

शनिवार , श्रावण २३, २०८३


सिन्धुली ,२३ साउन — सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको हाइसको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडक किनारको नालामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

शनिवार दिउँसो करिब १ बजेर ४५ मिनेटमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, छब्बिसस्थित बीपी राजमार्ग सडकखण्डमा भएको प्रहरीले जनाएको छ । मोरङको बेलबारी नगरपालिका–३ निवासी २५ वर्षीय उमेश श्रेष्ठले चलाएको बा ५ ख ५९८४ नम्बरको हाइस मोरङबाट यात्रु लिएर काठमाडौंतर्फ गइरहेको अवस्थामा ब्रेक फेल भएको थियो । ब्रेकले काम नगरेपछि चालकको नियन्त्रणबाहिर गएको सवारी सडकको नालामा परी दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाका बेला उक्त हाइसमा चालकसहित १४ जना सवार थिए । तीमध्ये चार जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको जनाइएको छ । घाइते सबैलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका–७ निवासी २२ वर्षीया रुवी साहको टाउको र अनुहारमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका–१२ निवासी १९ वर्षीय समित भुजेलको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

सोही स्थानका २० वर्षीय उज्वल चौधरीको दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१७ निवासी ४२ वर्षीय दुर्गानन्द शर्माको दुवै हातमा चोट लागेको छ । उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको बा ५ ख ५९८४ नम्बरको हाइस घटनास्थलमै रहेको छ । सवारी चालक उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हाल प्रहरी चौकी गढीको नियन्त्रणमा रहेको जनाइएको छ । दुर्घटनाको प्रारम्भिक कारण सवारीको ब्रेक फेल हुनु देखिएको छ । घटनाका सम्बन्धमा आवश्यक प्रहरी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया