शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनकोशीमा बेपत्ता तीन यात्रु र कारको खोजी कार्य साउन २५ सम्म

शनिवार , श्रावण २३, २०८३


सिन्धुली,२३ साउन – फिक्कल गाउँपालिका–२ नवलपुरमा भएको सवारी दुर्घटनापछि सुनकोशी नदीमा बेपत्ता तीन यात्रु र दुर्घटनाग्रस्त कारको खोजी साउन २५ गते दिउँसो १ बजेसम्म निरन्तर सञ्चालन गरिने भएको छ । दुर्घटना भएको ६ दिन बितिसक्दा पनि बेपत्ता यात्रु र कारको अवस्था पत्ता लाग्न नसकेपछि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह र पीडित परिवारबीचको छलफलबाट खोजीको समयसीमा निर्धारण गरिएको हो ।

फिक्कल गाउँपालिकामा शुक्रबार प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र बेपत्ता व्यक्तिका परिवारका सदस्यको सहभागितामा बसेको बैठकले साउन २५ गते दिउँसो १ बजेसम्म उपलब्ध सम्पूर्ण स्रोत, जनशक्ति र आधुनिक प्रविधि परिचालन गरी खोजी जारी राख्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार निर्धारित समयसम्म गोताखोर टोली, ड्रोन र म्याग्नेटलगायत उपलब्ध आधुनिक उपकरण प्रयोग गरेर नदीमा खोजी गरिनेछ । त्यस अवधिसम्म पनि बेपत्ता यात्रु तथा कार फेला नपरे खोजी कार्य स्थगित गर्ने सहमति भएको उनले जानकारी दिइन ।

दुर्घटनापछि लगातार पाँच दिनदेखि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटका गोताखोर, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोली खोजीमा सक्रिय छ । व्यापक प्रयासका बाबजुद अहिलेसम्म दुर्घटनामा परेको कार वा त्यसमा सवार तीन जनाको अवस्था पत्ता लाग्न सकेको छैन ।

सुनकोशीमा पानीको बहाव अत्यधिक तीव्र हुनु, पानी धमिलो रहनु तथा नदीको गहिराइका कारण खोजीमा प्राविधिक र भौगोलिक चुनौती देखिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन, “सुनकोशी नदीमा पानीको बहाब उच्च रहेकोले बेपत्ता यात्रु र कार फेला पार्न असंभव जस्तै भएकाले कहिलेसम्म खोज्ने भनेर सरोकारवाला बीच बैठक राखी टुग्यांईएको हो ।”

फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारका अनुसार खोजीको समयसीमा निर्धारण गर्दा पीडित परिवारको धार्मिक तथा सामाजिक परम्परालाई पनि ध्यानमा राखिएको छ । साउन २५ गतेसम्म दुर्घटना भएको आठ दिन पुग्ने र त्यसपछि परिवारले धार्मिक संस्कारअनुसार काजकिरिया गर्नुपर्ने अवस्था आउने भएकाले सरोकारवालाको सहमतिमा उक्त समय निर्धारण गरिएको उनले बताइन ।

बैठकले बेपत्ता व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै खोजी अभियानमा निरन्तर खटिएका सुरक्षा निकाय, स्थानीयवासी तथा सहयोग पु¥याउने सबैलाई धन्यवादसमेत दिएको छ । छलफलमा फिक्कल गाउँपालिकाका जनप्रतिनिधि, तीनपाटन गाउँपालिकाका उपाध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा पीडित परिवारका सदस्य सहभागी थिए ।

गत साउन १८ गते काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले सडक किनारमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेर डुबेको थियो ।

कारमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलम्पाकी मगर दुर्घटनापछि बेपत्ता छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निर्धारित समयसम्म उपलब्ध सबै स्रोत, प्रविधि र जनशक्ति परिचालन गरी खोजीलाई अन्तिम समयसम्म निरन्तरता दिने सहमति भएको छ ।

प्रतिक्रिया