सिन्धुली,०७ फागुण्न — आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा सतर्कता बढाइएका क्रममा बुधवार प्रहरीले सिन्धुलीमा विभिन्न सवारी साधनमा टाँसिएका आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन लगाएको छ । निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीले सिन्धुली बजार क्षेत्र तथा मुख्य सडक खण्डहरूमा सञ्चालन गरिएका चेकजाँचका क्रममा यस्ता गतिविधि नियन्त्रणमा लिएको जनाएको छ ।
सिन्धुली प्रहरीका अनुसार मोटरसाइकल, अटो रिक्सा, ट्याक्टर तथा निजी सवारी साधनमा अनुमति बिना टाँसिएका पर्चा, पम्पलेट तथा स्टिकरहरू निर्वाचन आचारसंहिताविपरीत पाइएपछि सम्बन्धित व्यक्तिहरूलाई हटाउन निर्देशन दिइएको हो । टोलीले तत्कालै ती सामग्री हटाउन लगाउँदै आगामी दिनमा यस्ता कार्य नगर्न सचेत गराएको छ ।
प्रहरीका अनुसार निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सार्वजनिक स्थान र सवारी साधन प्रयोग गरी गरिने प्रचारप्रसार कानुनविपरीत भएकाले प्रारम्भिक रूपमा सम्झाइ–बुझाइमार्फत नियन्त्रण गरिएको हो । “हामीले कसैलाई कारबाहीमुखी ढंगले अघि बढ्नुभन्दा पहिले सचेत गराउने नीति लिएका छौँ,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुबेदीले भने, “निर्वाचन आचारसंहिताको पालना सबैको दायित्व हो भन्ने सन्देश दिनु मुख्य उद्देश्य हो ।”
स्थानीय नागरिकहरूले पनि सडक तथा सवारी साधनमा अनियन्त्रित रूपमा टाँसिने प्रचार सामग्रीले वातावरण कुरूप बनाउने र दुर्घटनाको जोखिम समेत बढाउने भन्दै यस्तो अनुगमनलाई सकारात्मक रूपमा लिएका छन् ।
प्रहरीले निर्वाचन अवधिभर बजार, चोक तथा ग्रामीण क्षेत्रमा निरन्तर गस्ती र निगरानी बढाइने जानकारी दिएको छ । साथै उम्मेदवार, दलका कार्यकर्ता तथा समर्थकहरूलाई कानुनी प्रक्रिया पालना गर्दै मर्यादित प्रचारप्रसार गर्न आग्रह गरिएको छ ।
आगामी निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै प्रहरीले सर्वसाधारणलाई समेत नियम उल्लङ्घन देखेमा जानकारी गराउन अनुरोध गरेको छ ।