शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका राजनीतिक दलहरुमा बढ्दै चुनाबी चटारो

बिहिवार , माघ २२, २०८२

सिन्धुली,२२ माघ – आगामी फागुन २१ गतेका लागी तय भएको प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लिएर सिन्धुलीमा राजनीतिक दलहरुले चुनावी गतिविधीलाई तिब्र बनाउँदै गईरहेका छन । यतिबेला प्रमुख राजनीतिक दलहरु नेपाली काग्रेस, नेकपा(एमाले), नेपाली कम्युनिष्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टी सहित साना दलहरु र स्वतन्त्र उम्मेदवारहरु आफ्ना कार्यकर्ता तथा मतदाताहरुको बीचमा पुगेर संगठन सुदृढीकरण, घरदैलो अभियान तथा भेटघाटमा सक्रिय देखिएका छन ।

नेकपा(एमाले) सिन्धुलीका सचिब नबराज थिङले निर्वाचनलाई केन्द्रित गर्दै प्रचार प्रसार समिति निर्माणलाई तिब्रता दिएर अघि बढेको जानकारी दिए । उनले भने, “नेकपा(एमाले)को निर्वाचन प्रचार प्रसारका लागी जिल्ला स्तरमा केन्द्रीय सदस्य तथा क्षेत्र नं.१ का उम्मेदवार प्रदिप कुमार कट्वालको संयोजकत्वमा ३५ सय सदस्यीय मुल निर्वाचन परिचालन समिति निर्माण गर्नुका साथै निर्वाचन क्षेत्र, पालिका र वडा हँुदै टोलसम्म प्रचार प्रसार समिति गठन भइरहेको छ ।” पालिका तथा वडा स्तरमा निर्वाचन केन्द्रीत बैठक, प्रशिक्षण तथा निर्वाचन आयोगको आचारसंहिता पालन गर्दै आन्तरिक घरदैलो कार्यक्रम पनि सञ्चालन गरिरहेको थिङले बताए । उनले प्रचार प्रसार समिति मार्फत नेकपा(एमाले)ले हाल सम्म गरेका कामको जानकारी गराउने र एमाले बिरुद्ध फैलाइएको भ्रम चिर्ने काम भईरहेको जनाए । एमाले सिन्धुलीको चुनाबी कमाण्ड कट्वालले सम्हाल्ने र क्षेत्र नं.१ मा केन्द्रीय सदस्य बिषमलाल अधिकारी दनुवार र २ मा निरु दर्लामीले कमाण्ड सम्हाल्ने सचिब थिङले जानकारी दिए ।

त्यस्तै नेपाली काँग्रेस सिन्धुलीले पनि निर्वाचनलाई केन्द्रीत गरेर आफ्ना गतिविधीलाई तिब्र बनाएको छ । निर्वाचनलाई केन्द्रित गरेर जिल्ला सभापति उपेन्द्र कुमार पोखरेलको संयोजकत्वमा २५ सय भन्दा बढीको मुल निर्वाचन परिचालन समिति गठन गरेको बताएको छ । नेपाली काँग्रेस सिन्धुलीका सचिब इश्वर बस्नेतले निर्वाचनलाई लक्षित गरेर प्रचार प्रसार, युवा परिचालन, जनसंगठन परिचालन, आर्थिक तथा अनुगमन लगायत उपसमितिहरु गठन गरिएको र निर्वाचनलाई केन्द्रीत गरेर क्षेत्रीय, नगर तथा पालिका, वडा र बुथ स्तरमा निर्वाचन परिचालन कमिटीहरु गठन गरि परिचालन गरिएको बताऐ । बस्नेतले भने, “हामी निर्वाचन परिणामलाई नेपाली काँग्रेसको पक्षमा पार्नका लागी पार्टीका आन्तरिक कमिटीहरु र संगठनका सबै शक्तिहरुलाई परिचालन गरिरहेका छौं, निर्वाचन आचारसंहितालाई ध्यान दिर्दै आफ्ना गतिविधीहरु बढाउँदै लैजाने तयारी भईरहेको छ ।” जिल्लामा सभापति आफैले चुनाबी कमाण्ड सम्हाल्ने र क्षेत्रमा क्षेत्रीय सभापतिहरुले नै समग्र चुनाबको कमाण्ड गर्ने बस्तेतले जानकारी दिए ।

नेपाली कम्युनिष्ट पार्टीले पनि आफ्नो चुनाबी गतिविधीलाई आक्रमक रुपमा अगाडि बढाईरहेको छ । निर्वाचनलाई लक्षित गरी नेकपाले केन्द्रीय सचिब गंगानारायण श्रेष्ठ संयोजक र गंगा नेपाल सहसंयोजक रहेको ५५ सय ५१ सदस्यीय निर्वाचन मुल परिचालन समिति गठन गरेको छ भने पालिका तथा वडा स्तरमा पार्टी कमिटीका बैठक तथा प्रशिक्षण सम्पनन् गर्दै आन्तरिकक सुदृढीकरणको कामलाई तिब्रता दिएको नेकपाका नेता ज्वाला प्रसाद न्यौपाने पुकारले बताए । उनले भने,“ निर्वाचनलाई लक्षित पालिका स्तरका बैठक तथा प्रचार प्रसार कार्यालय स्थापनाको काम सम्पनन् भएको छ, वडा स्तर सम्म मतदाता शिक्षा, युवा परिचालन, प्रचार प्रसार लगायतका उपसमितिहरु निर्माण गर्ने कार्यका साथै आन्तरिक घरदैलो कार्यक्रम पनि सञ्चालन भैरहेको छ ।” नेकपाको चुनाबी कमाण्ड जिल्लामा श्रेष्ठले सम्हाल्ने र क्षेत्रमा उम्मेदवारहरुले नै कमाण्ड सम्हाल्ने न्यौपानेले जानकारी दिए ।

त्यसैगरी दोश्रो पटक प्रतिनिधीसभा निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचन अभियानलाई ब्यबस्थित ढंगले अगाडि बढाएको छ । उम्मेदवारी दर्ता सँगै सुरु गरिएको अभियान अन्र्तगत जिल्ला तहमा सभापति अबिनास बस्नेतको संयोजकत्वमा ४ सय १० सदस्यीय मुल निर्वाचन परिचालन समिति गठन सँगै पालिका र वडा स्तरमा निर्वाचन परिचालन समिति गठन गरिएको रास्वपा सिन्धुलीका सचिब एलपी देवकोटाले बताउनुभयो । उनले भने, “आन्तरिक तयारीसँगै प्रत्येक मतदाताको घरसम्म पुगेर आफ्ना एजेण्डा मतदातालाई सुनाउनुका साथै मतदाताका सुझाब संकलन गर्ने कार्य भईरहेको छ , निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै प्रचार प्रसारका गतिविधीहरु सञ्चालन हुनेछन ।” रास्वपा सिन्धुली निर्वाचनको कमाण्ड बस्नेतले सम्हाल्ने र क्षेत्र नं.१ मा जित बहादुर माझी र २ मा ओमहरि गीरीले चुनाबी कमाण्डको जिम्मेवारी निर्वाह गर्ने देवकोटाले बताए ।

२०७४ पछिका निर्वाचनमा कहिले बाम त कहिल बाम लोकतान्त्रिक गठबन्धनको नाममा मत माग्न पुगेका पुराना दलहरु यसपटकको निर्वाचनमा एक्ला एक्लै चुनाबी मैदानमा छन भने दोश्रो पटक निर्वाचनमा भाग लिएको रास्वपा र जेन्जी आन्दोलन पछि जन्मीएका श्रम सस्कृति पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवारहरु पनि सिन्धुलीमा चुनाबि अभियानमा रहेका छन । दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीको क्षेत्र नं.१ बाट स्वतन्त्र सहित १२ जना र क्षेत्र नं.२ बाट स्वतन्त्र सहित १६ जना गरी २८ उम्मेदवारहरु चुनाबी मैदानमा छन ।

प्रतिक्रिया