शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली–२ मा पार्टि भित्रकोआन्तरिक कलहले चुनावी गणित उल्टिँदै

बुधवार , माघ २१, २०८२

सिन्धुली,२१ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुली क्षेत्र नम्बर २ को राजनीतिक तापक्रम चर्किंदै गएको छ । लामो समयदेखि वामपन्थी प्रभावको ‘लालकिल्ला’ मानिँदै आएको यो क्षेत्र यसपटक भने आन्तरिक विद्रोह, गठबन्धनको विघटन र नयाँ शक्तिको प्रवेशका कारण पूर्ण रूपमा अनिश्चित बनेको छ । परम्परागत शक्ति सन्तुलन भत्किने संकेत देखिँदा सिन्धुली–२ को चुनावी प्रतिस्पर्धा यसपटक निकै रोचक र चुनौतीपूर्ण बन्दै गएको छ ।

सिन्धुली मा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह छन् । सिन्धुली जिल्ला भित्री तराई तथा पहाडी भू–भागबाट बनेको छ । सिन्धुली–२ मा हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाका १–८ र १०–१२ वडाहरू पर्छन् । यो क्षेत्रमा १ लाख ४ हजार ६ सय २८ मतदाता छन् । भौगोलिक रूपमा पहाड र भित्री तराई मिसिएको यो क्षेत्र राजनीतिक रूपमा सधैँ निर्णायक रहँदै आएको छ ।

इतिहास हेर्दा २०४८ सालदेखि २०७९ सम्मका निर्वाचनमा कहिले काँग्रेस त कहिले वामपन्थी दलहरू यहाँ हाबी भएका छन् । पछिल्ला दुई दशकमा भने माओवादी केन्द्रको पकड बलियो देखिन्छ । २०६४, २०७४ र २०७९ मा माओवादी उम्मेदवार विजयी हुँदा २०७० मा मात्र काँग्रेसले सफलता पाएको थियो । यही कारण सिन्धुली–२ लाई माओवादीको सुरक्षित क्षेत्र मानिँदै आएको थियो ।

तर यसपटक परिस्थिति फेरिएको छ । अघिल्लो निर्वाचनमा गठबन्धनको सहारामा विजयी बनेका माओवादी –नेकपा)उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ यसपटक आफ्नै दलभित्रको विद्रोहले घेरिएका छन् । उनकै सहयात्री महेश्वर दाहालले बागी उम्मेदवारी दिएपछि नेकपाभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ । दुई पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पूर्वमन्त्री हरिबोल गजुरेल स्वयं महेश्वरको प्रस्तावक बनेपछि यो विद्रोह सामान्य नभई शक्तिशाली देखिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका जिल्ला तहका प्रभावशाली नेताहरूको समर्थन पाएका महेश्वर केवल बागी उम्मेदवार मात्र होइन, संस्थापन पक्षकै विकल्पका रूपमा उभिएका छन् । विगतमा पनि सिन्धुलीमा बागी उम्मेदवार विजयी भएको इतिहास रहेकाले यो विद्रोहले आधिकारिक उम्मेदवारलाई गम्भीर संकटमा पारेको छ ।

यता नेकपा एमाले यसपटक अवसरको खोजीमा देखिएको छ । अघिल्लो निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेर पनि २१ हजार ६ सय सतासी मत ल्याएका मनोजजंग थापालाई एमालेले पुनः मैदानमा उतारेको छ । २०७९ को समानुपातिक मत परिणाममा एमाले १७ हजार १ सय ४९ मतका साथ पहिलो स्थानमा रहेको एमाले सिन्धुली–२ मा सांगठनिक रूपमा सबल देखिन्छ । नेकपाकोे मत विभाजन भए त्यसको प्रत्यक्ष फाइदा एमालेले उठाउने आकलन गरिएको छ ।

कूटनीतिक अनुभव, बौद्धिक छवि र इन्जिनियरिङ पृष्ठभूमि भएका थापाले यसपटक केवल राजनीतिक नारा होइन, नीतिगत सोच र प्रगतिशील रूपान्तरणलाई मुख्य एजेन्डा बनाएका छन्, जसले शिक्षित र तटस्थ मतदातालाई आकर्षित गर्न सक्ने देखिएको छ । २०४० सालमा कमला मावि ढुङ्ग्रेबासमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुबाट वामपन्थी राजनीति यात्रा सुरु गरेका थापा अखिल भारत नेपाल विद्यार्थी संघको महासचिव हुँदै राजनीतिमा अगाडि आएका थिए । थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा दखल राख्छन् ।  वामपन्थी मत विभाजन र काँग्रेसको कमजोर संगठनात्मक अवस्था र बागी उम्मेदवारले उनको लागि अनुकूल देखिन्छ ।

नेपाली काँग्रेसकी सुशीला थिङ पनि यसपटकको प्रतिस्पर्धामा त्रिकोणात्मक भिडन्त बनाउने प्रयासमा छिन् । अघिल्लो निर्वाचनमा गठबन्धनका कारण माओवादीलाई सघाएको काँग्रेसले यसपटक आफ्नै उम्मेदवार उठाएको छ । अघिल्लो चुनावमा समानुपातिक सांसद थिङ यसपटक प्रत्यक्ष तर्फको चुनावी मैदानमा होमिएकी छन् । विघटित प्रतिनिधि सभामा उनी काँग्रेसको सचेतकसमेत थिइन् ।

समानुपातिकतर्फ १३ हजार ३ सय ४९ मत प्राप्त गरेको काँग्रेसको मत यसपटक कता जान्छ भन्ने कुराले पनि निर्णायक भूमिका खेल्नेछ । थिङका लागि पार्टीभित्रको एकता कायम राख्दै वामपन्थी मत विभाजनको फाइदा उठाउनु मुख्य चुनौती हुनेछ ।

नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेलले चुनावी समीकरण थप जटिल बनाएका छन् । पूर्वाधार विज्ञका रूपमा परिचित गजुरेलले प्राविधिक दक्षता र सुशासनको एजेन्डा अघि सारेका छन् । सहरी क्षेत्र र युवामाझ उनको आकर्षण बढ्दो देखिन्छ । यदि उनले उल्लेख्य मत ल्याए त्यसको प्रभाव मुख्यतः काँग्रेस र नेकपा दुवैलाई पर्ने देखिन्छ ।

यस क्षेत्रबाट राप्रपा, नेमकिपा, प्रलोपासहित स्वतन्त्र उम्मेदवारहरूको पनि उपस्थिति छ । विशेषगरी पूर्वमाओवादी पृष्ठभूमिका उम्मेदवारहरूले माओवादीकै आधारभूत मत काट्ने सम्भावना रहेको छ ।

समग्रमा हेर्दा सिन्धुली–२ मा यसपटक कुनै एक दलको स्पष्ट वर्चस्व देखिँदैन । गठबन्धनको अन्त्य, नेकपा र काँग्रस भित्रको विद्रोह र नयाँ शक्तिको उदयले यहाँको चुनावी गणित पूर्ण रूपमा फेरिएको छ । ‘लालकिल्ला’ भनेर चिनिएको सिन्धुली–२ मा विद्रोहको पहिरो झर्ने कि पुरानै शक्ति पुनः स्थापित हुने भन्ने प्रश्नको उत्तर मतपेटिकाबाट मात्र आउनेछ ।

प्रतिक्रिया