शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली–२ मा पुराना दल संकटग्रस्त, नयाँ र स्वतन्त्र उम्मेदवारले लिँदै मतदाताको मन

बुधवार , माघ २१, २०८२

सिन्धुली, २१ माघ – प्रतिनिधिसभा निर्वाचन फाल्गुण २१ नजिकिदै गर्दा सिन्धुली–२ निर्वाचन क्षेत्रमा पुराना दल नेपाली काँग्रेस र नेकपा आन्तरिक विवाद र कलहमा उल्झिएका छन् । पार्टी भित्रको असन्तुष्टि र आक्रोश कार्यकर्ताको स्तरसम्म स्पष्ट देखिन थालेको छ ।

नेपाली काँग्रेसकी सांसद सुशिला थिङ्ग र नेकपाका सांसद लेखनाथ दाहाल (राजन) आफ्नै पार्टीभित्रका निष्ठावान नेताहरूको स्वतन्त्र उम्मेदवारीसँग चुनौती सामना गरिरहेका छन् । उनीहरूका लागि बाह्य प्रतिद्वन्द्वीभन्दा आन्तरिक कलह बढी चिन्ताको विषय बनेको छ ।

राजनितिक विश्लेषकहरू भन्छन्, नेतृत्व–केन्द्रित राजनीति, गुट–उपगुटको द्वन्द्व, निर्णय प्रक्रियामा पारदर्शिताको कमी र कार्यकर्ताको असन्तुष्टि पुराना दलका मुख्य कमजोरी हुन् । पार्टीको विधान र संस्थागत प्रक्रिया केवल कागजमै सीमित हुँदा व्यवहारमा निर्णय केही नेताको समूहभित्रै सिमित हुने गरेको आरोप कार्यकर्ताहरूले लगाएका छन् ।

सिन्धुलीका मतदाताले अब पुराना दलप्रति भरोसा कम गर्दै नयाँ दल र स्वतन्त्र उम्मेदवारप्रति बढी आकर्षित भएको देखिन्छ । यही कारण यसपटकको राजनीतिक परिदृश्य फरक देखिएको छ ।

नयाँ दलका उम्मेदवारसँग ठूला कार्यालय र झिलिमिली प्रचार सामग्री छैनन् । तर उनीहरू घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो ऊर्जा साझा गरिरहेका छन् । ग्रामीण क्षेत्रका गाउँ–बस्तीमा उनीहरूको सक्रिय उपस्थिति नागरिकको चासो र भरोसा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

सिन्धुलीका युवाहरू वैदेशिक रोजगारी, बेरोजगारी र राजनीतिक बेवास्ताबाट प्रभावित छन् । युवा वर्ग पुराना नेताका भाषणभन्दा नयाँ उम्मेदवारको प्रत्यक्ष प्रश्न–उत्तर शैलीसँग बढी आकर्षित भएको देखिन्छ ।

राजनितक विश्लेषकहरूका अनुसार नयाँ दलको उत्साह आकस्मिक होइन । यो पुराना दलको संगठनात्मक कमजोरी, गुटबन्दी र निर्णय केन्द्रित हुने प्रवृत्तिको प्रतिफल हो । महँगो पोस्टर र भीड भाडभन्दा उनीहरू सामग्रीभन्दा सन्देशमा विश्वास गर्छन् । ‘हामी पनि तपाईं जस्तै नागरिक हौँ’ भन्ने भावनाले मतदातासँग दूरी घटाएको छ ।

सिन्धुलीमा नयाँ दलको उम्मेदवारको उत्साह केवल प्रचारको रूपमा मात्र होइन, राजनीतिक चेतनाको संकेतका रूपमा देखिएको छ । पुराना दलहरूले यसलाई अझै हल्का लिए भने आगामी चुनाव परिणाम उनीहरूको लागि अप्रिय हुन सक्ने चेतावनी विशेषज्ञहरूले दिएका छन् ।

यसैबीच, निर्वाचन क्षेत्रको राजनीतिक विश्लेषकहरूले मतदातालाई बुझाउने र उनीहरूसँग प्रत्यक्ष संवाद गर्ने शैली पुराना दलले आत्मसात गर्न नसकेको भनी टिप्पणी गरेका छन् । यसले मतदातामा निराशा सिर्जना गरेको र नयाँ उम्मेदवारप्रति आकर्षण बढाएको देखिन्छ ।

सिन्धुली–२ को निर्वाचन क्षेत्रका विभिन्न गाउँ–बस्तीमा मतदाता भेटघाटका क्रममा नयाँ दलका उम्मेदवारले घर–घर पुगेर व्यक्तिगत संवाद कायम गरेका छन् । यसले मतदातामा ‘समान नागरिकको प्रतिनिधि’ भन्ने भाव जगाएको छ ।

नेपाली काँग्रेस र नेकपाको आन्तरिक कलहले निर्वाचन अभियानलाई असर पु¥याएको छ । कार्यकर्ताको असन्तुष्टि र नेतृत्व–केन्द्रित निर्णय प्रक्रियाले पार्टीभित्र एकताको अभाव सिर्जना गरेको छ । यसै कारण पुराना दलका उम्मेदवारले मतदाता र स्थानीय समुदायस्तरको समर्थन जुटाउन कठिनाइ भोगिरहेका छन् ।

सिन्धुलीका मतदाता विशेषगरी युवा वर्गले नयाँ दल र स्वतन्त्र उम्मेदवारलाई अवसर दिने संभावना बढेको छ । राजनीतिक चेतना, प्रत्यक्ष संवाद र घर–घरको पहुँचले उनीहरूलाई पुराना दलभन्दा फरक र भरोसायोग्य विकल्पको रूपमा प्रस्तुत गरेको छ ।

राजनितिक विश्लेषकहरूका अनुसार यदि पुराना दलले आन्तरिक विवाद व्यवस्थापन गर्न असफल भए, आगामी निर्वाचनमा उनीहरूको पराजय निश्चित भइसकेको जस्तो देखिन्छ । सिन्धुली–२ मा नयाँ र स्वतन्त्र उम्मेदवारको उत्साहले मतदाताको निर्णयमा निर्णायक भूमिका खेल्ने अनुमान छ ।

प्रतिक्रिया