शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका अनुभवी राजनीतिज्ञ टीकाजंग थापाको निधन

मंगलवार , माघ २०, २०८२

सिन्धुली,२० माघ – सिन्धुलीका पुराना चर्चित राजनीतिज्ञ टीकाजंग थापाको मंगलवार ८६ वर्षको उमेरमा राजधानी स्थित टिचिङ अस्पतालमा निधन भएको छ । लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित रहेका स्वर्गीय थापाको निधनले जिल्लाका राजनीतिक तथा सामाजिक क्षेत्रहरूमा शोक छाएको छ ।

स्वर्गीय थापा वि.सं. २०४३ सालमा राष्ट्रिय पंचायत सदस्यका रूपमा सिन्धुली जिल्लाको प्रतिनिधित्व गर्दै नेपालको राजनीतिक जीवनमा सक्रिय भइसकेका थिए । त्यसअघि तात्कालिन जिल्ला पंचायत सिन्धुलीका दुई कार्यकालसम्म निर्वाचित सभापति रहेका थिए । उनले पंचायतकालमा निर्वाचित भएर गरेका योगदान र नेतृत्व क्षमताका कारण अहिले पनि जिल्लाका पुराना राजनीतिकर्मीहरू स्मरण गर्छन ।

राजनीतिक जीवन मात्र नभई सामाजिक सेवामा समेत सक्रिय रहेका थापाले विश्व सम्बन्ध परिषदको अध्यक्षतासमेत गरेका थिए । यस्तै, युनाईटेड नेशनका लागि नेपालको टिम लिटर बनेका थापा सरकारी तथा गैरसरकारी संघ–संस्थामा अग्रणी भूमिका निर्वाह गरेका थिए । उनको कार्यकुशलता र समर्पणले उनलाई गोरखा दक्षिणबाहु र दैवी प्रकोप उद्धार पदक जस्ता विभूषणहरूबाट सम्मानित भएका थिए ।

थापाले देश–विदेशमा स्वास्थ्य उपचारसमेत गराएका थिए े। केही समयअघि भारतको दिल्लीमा पनि उपचार गराइसकेका थिए । स्वर्गीय थापाको परिवारमा एक श्रीमती, तीन छोरा र दुई छोरी रहेका छन् । उहाँको पार्थिव शरीर माघ २२ गते बिहीवार श्रीपशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्तेष्ठी गरिने जानकारी उनका सुपुत्र एवं नेपाली काँग्रेस वागमती प्रदेश समितिका सदस्य असिमजंग थापाले जानकारी दिए ।

सिन्धुली जिल्लाका स्थानीयवासी, राजनीतिज्ञ र सामाजिक क्षेत्रका सहयोगीहरूले उनको निधनलाई अपरिहार्य क्षति र राजनीतिक मार्गदर्शकको अवसानको रूपमा लिएका छन् । जिल्लामा थापाले नेतृत्व गरेका धेरै परियोजना, स्थानीय विकास कार्यक्रम र सामाजिक सेवाका कार्यहरू आजसम्म स्मरणीय रहेका छन् ।

राजनीतिक क्षेत्रमा योगदान दिने थापाले नयाँ पुस्तालाई नेतृत्व र सेवा भावको प्रेरणा प्रदान गरेका थिए । उनको निधनले सिन्धुली जिल्लाका राजनीतिक र सामाजिक संरचनामा शून्यता सृजना भएको छ । स्वर्गीय थापाको योगदान, कार्यकुशलता र समाजप्रति समर्पणले उनलाई नेपाली राजनीति र सामाजिक क्षेत्रमा सदैव स्मरणीय बनाइरहने विश्वास व्यक्त गरिन्छ ।

प्रतिक्रिया