सिन्धुली,२० माघ – सिन्धुली क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का प्रतिनिधिसभा उम्मेदवार मनोज जंग थापाले जिल्लाका बौद्धिक तथा प्रबुद्ध व्यक्तिहरूसँग मंगलवार सिन्धुलीमाढीमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरेका छन् । आगामी निर्वाचनलाई केन्द्रमा राखेर आयोजित उक्त कार्यक्रममा विकास, सुशासन, शिक्षा, रोजगारी र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा गहन छलफल गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार थापाले सिन्धुलीको विकास सम्भावना अझै पनि पूर्ण रूपमा उपयोग हुन नसकेको उल्लेख गर्दै अबको आवश्यकता दीर्घकालीन सोच र स्पष्ट कार्ययोजनासहितको खाका भएको बताए । “सिन्धुली केवल भौगोलिक हिसाबले मात्र होइन, सम्भावनाको दृष्टिले पनि महत्वपूर्ण जिल्ला हो,” उनले भने, “यहाँको कृषि, पर्यटन र मानव स्रोतलाई योजनाबद्ध रूपमा अघि बढाउन सके जिल्लालाई समृद्धिको मार्गमा लैजान सकिन्छ ।”
थापाले विगतमा भएका विकासका प्रयासलाई निरन्तरता दिँदै भ्रष्टाचारमुक्त प्रशासन र जनउत्तरदायी शासन प्रणालीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले नीति निर्माणमा बौद्धिक वर्गको सुझावलाई आत्मसात गर्दै अघि बढ्ने धारणा पनि राखे ।
कार्यक्रममा मन्तव्य राख्दै पूर्व सांसद मञ्चका महासचिव शंकरनाथ शर्माले राजनीतिक स्थायित्व र सक्षम नेतृत्व विना विकास सम्भव नहुने बताए । उनले जनप्रतिनिधि केवल निर्वाचन जित्ने पात्र नभई जनताको भरोसाको केन्द्र हुनुपर्नेमा जोड दिए । “अबको राजनीति भाषणको होइन, कामको आधारमा मूल्यांकन हुने समय हो,” शर्माले भने, “जनताले अनुभूति गर्ने खालका परिणाम दिन सक्ने नेतृत्व आवश्यक छ ।”
शर्माले सिन्धुली क्षेत्र नम्बर २ का मतदाताहरू सचेत रहेको उल्लेख गर्दै योग्य, इमानदार र दूरदर्शी एमालेका उम्मेदवारलाई मनोजजंग थापलाई समर्थन गर्न आग्रह गरे । उनले बौद्धिक वर्ग र राजनीतिक नेतृत्वबीच निरन्तर संवाद हुनुपर्ने धारणा पनि व्यक्त गरे ।
कार्यक्रम सञ्चालन गर्दै कमलामाई नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्ग बहादुर खत्रीले यस्ता अन्तरक्रिया कार्यक्रमले राजनीतिक चेतना अभिवृद्धि गर्नुका साथै नीति र व्यवहारबीचको दूरी घटाउने बताए । “राजनीति जनतासँग टाढा होइन, जनतामाझ रहेर गरिनुपर्छ,” उनले भने, “बौद्धिक वर्गको सुझाव समेटेर अघि बढ्न सके मात्र समावेशी र दिगो विकास सम्भव हुन्छ ।”
अन्तरक्रिया कार्यक्रममा सहभागी बुद्धिजीवीहरूले शिक्षा सुधार, स्थानीय रोजगारी सिर्जना, युवाको पलायन रोक्ने उपाय तथा पूर्वाधार विकासका विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा उठेका सुझावलाई आगामी कार्यदिशामा समावेश गरिने उम्मेदवार थापाले प्रतिबद्धता जनाएका छन् ।