शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दुधौलीको सामुदायिक बनमा एक पुरुष मृत फेला

मंगलवार , माघ २०, २०८२

सिन्धुली,२० माघ — सिन्धुलीको दुधौली नगरपालिकामा रहेको सामुदायिक बन क्षेत्रमा एक पुरुषको शव फेला परेकोे छ । दुधौली नगरपालिका–४ अन्तर्गत पर्ने झोराखानी दमार सामुदायिक बनमा स्थानीय बासिन्दाले एक पुरुष घोप्टो अवस्थामा मृत भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अनुसार सोमवार बिहान करिब ९ बजे स्थानीयले सखुवाको रुख नजिकै एक व्यक्तिको शव देखेपछि इलाका प्रहरी कार्यालय डकाहामा खबर पुगेको हो । जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो । मृत भेटिने व्यक्ति दुधौली नगरपालिका–३, मिलनचोक निवासी करिब ५८ वर्षीय सन्त बहादुर घिसिङ भएको पहिचान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली बिहान ११ बजेर ३५ मिनेटमा घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा मुचुल्का प्रक्रिया पूरा गरेको थियो । शव सखुवाको रुख नजिकै घोप्टो अवस्थामा रहेको र शरीरमा बाह्य चोटपटक स्पष्ट नदेखिएको प्रारम्भिक विवरणमा प्रहरीको भनाई छ । यद्यपि मृत्युको कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्रै यकिन हुने प्रहरीको भनाइ छ ।

मुचुल्का प्रक्रिया सम्पन्न भएपछि शवलाई थप परीक्षणका लागि नगर अस्पताल सिर्थौली पठाइएको थियो । अस्पतालमा दिउँसो ४ बजेर ४५ मिनेटमा पोस्टमार्टम सम्पन्न भएको र त्यसपछि मृतकका भाइ नर बहादुर घिसिङले शव बुझी लगेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय बासिन्दाका अनुसार सन्त बहादुर घिसिङ सामान्य जीवनयापन गर्दै आएका थिए र उनको मृत्यु कसरी भयो भन्नेबारे स्पष्ट जानकारी कसैलाई थिएन । प्रहरीले घटनालाई शंकास्पद नठाने पनि सबै सम्भावित कोणबाट अनुसन्धान भइरहेको जनाएको छ । मृतकको स्वास्थ्य अवस्था, घटनास्थलमा पुग्नुको कारण, तथा मृत्यु हुनुअघि भएका गतिविधिबारे परिवारजन र स्थानीयसँग सोधपुछ भइरहेको छ । पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मात्रै घटनाको वास्तविक कारण सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया