शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली क्षेत्र नं. १ :काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, परिणाम अनिश्चित

मंगलवार , माघ २०, २०८२

सिन्धुली,२० माघ – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै सिन्धुलीका चोक–चौतारा देखी सामाजिक सञ्जालहरुमा निर्वाचनको माहौल तातिएको छ । दलहरुले उम्मेदवारी दर्तासँगै निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन । राजनैतिक शक्ति सन्तुलन, समिकरण र सम्भावित परिणामलाई लिएर चासो र चर्चा हुन थालेको छ ।

निर्वाचनको सम्भावित परिणामको आकलन गर्दा यस अघिको नतिजा र बर्तमान राजनीतिक परिस्थितिलाई विश्लेषण गर्नुपर्ने हुन्छ । समग्र राष्ट्रिय राजनीतिमा आएको परिवर्तन, नयाँ राजनैतिक दलहरुको उदय र मतदाताको मनस्थितीमा आएको फेरबदलका कारण निर्वाचनको परिणाम अनुमान गर्न सक्ने अवस्था देखिदैन् ।

सिन्धुली निर्वाचन क्षेत्र नं.१ को प्रतिनिधीसभा निर्वाचन २०७४र २०७९ र स्थानीय तह निर्वाचन–२०७९ समेतको मत विश्लेषण गर्दा निर्वाचनमा मुख्य प्रतिसप्रर्धा नेकपा(एमाले), नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी बीच नै हुने देखिन्छ । भुगोलमा बलियो संगठनात्मक आधार नभएका कारण अहिले सम्म नयाँ दलहरुको उपस्थिती प्रभावकारी र आक्रमक देखिएको छैन ।

निर्वाचन क्षेत्रको पुर्नसंरचना पछि क्षेत्र नं.१ मा २०७४ मा भएको प्रतिनिधीसभा निर्वाचनमा नेकपा(एमाले) र नेकपा(माओवादी) केन्द्र बीच चुनाबी गठबन्धन हुँदा नेकपा(एमाले)का गणेश कुमार पहाडी ३२ हजार ५ सय २९ मत प्राप्त गरेर बिजयी भएका थिए भने नेपाली काँग्रेसका नेता प्रेमचन्द्र दाहालले २२ हजार ३ सय ८९ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा प्रतिनिधीसभा क्षेत्र नं.१ मा कुल मत ९२ हजार ९० मध्ये ५४ हजार ४ सय ५५ मत खसेको थियो । उक्त निर्वाचनमा नयाँ र स्वतन्त्र उम्मेदवारहरुको खासै उपस्थिती रहेको अवस्था थिएन ।

पछिल्लो २०७९ मंसिरमा भएको प्रतिनिधीसभा निर्वाचनमा नेपाली काँग्रेस र नेकपा(माओवादी) केन्द्र बीच बाम लोकतान्त्रिक गठबन्धन भएको थियो भने नेकपा(एमाले) एकल रुपमा चुनाबी मैदानमा थियो । उक्त निर्वाचनमा नेपाली काँग्रेसका श्याम घिमिरेले ३० हजार ३ सय ९१ मत प्राप्त गरेका थिए भने नेकपा(एमाले)का प्रदिप कट्वालले २५ हजार ५ सय ४६ मत प्राप्त गरेका थिए । त्यस्तै भर्खरै निर्वाचनमा भाग लिएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेनुका ठकुरीले २ हजार ६ सय ९२ मत प्राप्त गरेकी थिईन । प्रतिनिधिसभा निर्वाचन २०७९ को समानुपातिक तर्फको मत परिणाम हेर्ने हो भने सिन्धुली १ मा नेकपा(एमाले) २२ हजार ३ सय ४९, नेपाली काँग्रेस १८ हजार २ सय ४२, नेकपा(माओवादी केन्द्र) १२ हजार ३ सय ८१, राष्ट्रिय स्वतन्त्र पार्टी ४ हजार ७७ र राप्रपा नेपालले १ हजार १ सय ५० मत प्राप्त गरेको थियो । उक्त निर्वाचनमा कुल १ लाख ७ हजार १ सय २६ मत मध्ये ६३ हजार २ सय ९६ म खसेको थियो । सिन्धुली–१ मा गठबन्धनका कारण २०७४ मा एमाले र २०७९ नेपाली काँग्रेसले जित हासील गरेको थियो ।

२०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनको मतको अवस्थालाई हेर्दा क्षेत्र नं.१ मा रहेको ४ स्थानीय तह मध्ये नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बीचमा गठबन्धन हुँदा पनि २ वटा स्थानीय तहमा नेकपा(एमाले) र १⁄१ स्थानीय तहमा काँग्रेस र माओवादीकेन्द्र बिजयी भएका थिए ।

स्थानीय तहमा माओवादी केन्द्रले १ प्रमुख २ उपाध्यक्ष सहित ३ पद जितेको थियो भने नेकपा(एमाले)ले २ अध्यक्ष सहित १ उपाध्यक्ष जितेको थियो । काँग्रेसले १ अध्यक्ष सहित १ उपप्रमुख जितेको थियो ।

जम्मा ४१ वटा वडा रहेको क्षेत्र नं.१ मा नेपाली काँग्रेसले २०, नेकपा(एमाले)ले १२ र नेकपा(माओवादी केन्द्र)ले ७ वटा वडामा जित हासील गरेको थियो । ४१ वडा मध्ये १७ वडामा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको थियो । उक्त निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत हेर्दा नेकपा(एमाले)ले २८ हजार ६ सय १, काँग्रेसले गठबन्धनका कारण १३ वटा वडामा माओवादी केन्द्र सहितको प्राप्त गरेको मत २७ हजार ७ सय ५३ र नेकपा(माओवादी केन्द्र)ले ५ वटा वडामा नेपाली काँग्रेसको मत सहित प्राप्त गरेको मत १४ हजार ५ सय १४ रहेको छ । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणामलाई हेर्दा नेकपा(एमाले) नेपाली काँग्रेसभन्दा झिनो मतान्तरले पहिलो देखिन्छ ।

अब फाल्गुण २१ मा हुने आगामी निर्वाचनको परिणाम के हुन सक्छ ? बिगतको निर्वाचनको अवस्था हेर्दा एकल चुनाबमा नेकपा(एमाले) नै पहिलो दलको रुपमा देखिन्छ । २०६४ देखी निरन्तर चुनाब जित्दै आएको नेकपा(एमाले) सिन्धुली क्षेत्र नंं.१ मा गठबन्धनका कारण २०७९ को निर्वाचनमा पराजय भोग्न बाध्य भएको थियो । आउँदो निर्वाचनमा नेकपा(एमाले), नेपाली काँग्रेस र पुर्व माओवादी अर्थात नेपाली कम्युनिष्ट पार्टी एकल रुपमा चुनाबि मैदानमा छन ।

सिन्धुली निर्वाचन क्षेत्र नं.१ को चुनाबी प्रतिसप्रर्धा यसपटक फरक खालको देखिएको छ । नेकपा(एमाले)बाट प्रदिप कुमार कटुवाल क्षेत्री, नेपाली काँग्रेसबाट उज्जल प्रसाद बराल, नेपाली कम्युनिष्ट पार्टीबाट डेकेन्द्र प्रसाद सुवेदी, रास्वपाबाट धनेन्द्र कार्की, राप्रपाबाट रामनारायण अधिकारी दनुवार, चुनावी मैदानमा छन भने नयाँ शक्तिको रुपमा उदाएका उज्यालो नेपाल र श्रम सस्कृति पार्टीका उम्मेदवार समेत चुनाबी मैदानमा छन ।

नेपाली काँग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका पुराना र आर्दशवान नेता उज्जल बराल चुनाबी मैदानमा छन भने नेकपा(एमाले)बाट जनस्तरमा स्थापित प्रदिप कटुवाल चुनाबी मैदानमा छन । यी दुई उम्मेदवार बीच कडा प्रतिसप्रर्धा हुने देखिन्छ । उता राप्रपाबाट टिकट पाएका रामनारायण अधिकारी दनुवारले दनुवार समुदायको काँग्रेस र एमालेको मत काट्ने संभावना रहेको छ भने नयाँ उदाएका उज्यालो नेपाल, श्रम सस्कृति र रास्वपाले काँग्रेस र एमालेकै मत काट्ने भएकाले चनाबी परिणाम अनुमान लगाउन सक्ने अवस्था छैन ।

प्रतिक्रिया