शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हरिहरपुरगढीमा एमालेको चुनावी तयारी तीव्र

सोमवार , माघ १९, २०८२

सिन्धुली,१९ माघ — आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आफ्नो संगठनात्मक शक्ति थप सुदृढ बनाएको छ । पार्टीले हरिहरपुरगढी पालिका कमिटीको बैठकमार्फत पाँच सय ३१ सदस्यीय विशाल निर्वाचन परिचालन कमिटी गठन गर्दै चुनावी तयारीलाई तीव्र बनाएको हो ।

सिन्धुली क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीका संयोजक तथा नेकपा एमाले केन्द्रीय सदस्य निरू दर्लामीको अध्यक्षतामा बसेको बैठकले कमल जंग राईको नेतृत्वमा ठूलो संख्यामा परिचालन कमिटी विस्तार गरेको छ । बैठकमा सहभागी नेताहरूले आगामी निर्वाचनलाई अनुशासित, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पालिका कमिटीका अध्यक्ष मान बहादुर वाइबाका अनुसार निर्वाचन व्यवस्थापनलाई चुस्त बनाउन हरिहरपुरगढी गाउँपालिकाका सबै वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरिनेछ । ती कार्यालयमार्फत मतदाता भेटघाट, पार्टीका नीति तथा कार्यक्रम प्रचार, संगठन सुदृढीकरण र स्थानीय समस्या संकलन गर्ने योजना रहेको उनले बताए ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य निरू दर्लामीले पार्टीका सम्पूर्ण संरचनालाई निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय बनाउन निर्देशन दिइन् । उनले संगठनभित्र एकता, अनुशासन र जनसम्पर्कलाई प्राथमिकता दिएर काम गर्न आग्रह गर्दै एमाले जनताको भरोसाको पार्टी भएको दाबी गरिन् ।

सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोज जंग थापाले हरिहरपुरगढी क्षेत्रको समग्र विकास र समृद्धिलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताए । उनले ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको हरिहरपुरगढीको पुनर्निर्माणका लागि आफूले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको जानकारी दिए ।

थापाका अनुसार उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याएर हरिहरपुरगढीलाई राष्ट्रिय पहिचान दिलाउने योजनामा आफू दृढताका साथ लाग्नेछन् । उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जनामा समेत विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा स्थानीय नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । एमालेले हरिहरपुरगढीमा संगठन विस्तारसँगै चुनावी माहोललाई थप सशक्त बनाउँदै लगेपछि क्षेत्र नम्बर २ मा राजनीतिक प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ ।

प्रतिक्रिया