सिन्धुली,१९ माघ — नेपाल सरकारबाट किसानका लागि अनुदानमा उपलब्ध गराइएको रासायनिक मल बीचै बाटोमा मोडेर कालोबजारी गर्ने योजनासहित गरिएको संगठित प्रयास सिन्धुलीमा पर्दाफास भएको छ । किसानको खेतमा पुग्नुपर्ने मल निजी गोदाममा थुपारिएको अवस्थामा फेला परेपछि कृषि क्षेत्रमा बढ्दो अव्यवस्था र अनुगमनको कमजोरीमाथि गम्भीर प्रश्न उठेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन, मिर्चैयाबाट किसानलाई सहज रूपमा वितरण गर्न भनी पठाइएको ५० किलो तौलका २१६ बोरा अनुदानप्राप्त रासायनिक मल गन्तव्यसम्म नपुगी बाटोमै अनलोड गरिएको थियो । ती मलहरू पछि थप मलसँग मिसाएर जम्मा ३१८ बोरा बनाइ सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित पशुपति महत्तोको निजी गोदाममा लुकाइ राखिएको अवस्थामा बरामद गरिएको हो ।
यहि माघ १५ गते बिहिवार दुर्गा भवानी कृषि सहकारी संस्था लिमिटेड, कटारीको नाममा पठाइएको मल स १ ख ८०० नम्बरको ट्रकमार्फत ढुवानी हुँदै थियो । तर ट्रकले तोकिएको मार्ग र उद्देश्यभन्दा फरक गतिविधि गर्दै बीच बाटोमै मल झारेर अन्यत्र लैजाने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । किसानलाई वितरण गर्ने नाममा आएको अनुदानको मल खुलेआम कालोबजारीका लागि प्रयोग गरिएको आशंकासँगै प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।
इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको टोलीले सूचनाका आधारमा दुधौली नगरपालिका–९ मा रहेको महत्तोको गोदाममा छापा मार्दा ठूलो परिमाणमा मलखाद बरामद गरेको हो । बरामद गरिएका मलहरू तत्काल इलाका प्रहरी कार्यालयमा ल्याई राखिएको छ भने घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनामा संलग्न भएको आरोपमा चार जनालाई अनुसन्धानको दायरामा ल्याइएको छ । दुधौली नगरपालिका–९ निवासी ४३ वर्षीय पशुपति महतो, सिराहा जिल्लाको मिर्चैया नगरपालिका–२ निवासी २५ वर्षीय रामकृष्ण पण्डित, उदयपुरको कटारी नगरपालिका–३ निवासी ४९ वर्षीय लालप्रसाद बास्तोला तथा मल ढुवानीमा प्रयोग गरिएको स १ ख ८०० नम्बरको ट्रकसमेत नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उक्त घटनालाई गम्भीर आर्थिक अपराधको रूपमा लिँदै कालोबजारी मुद्दा अन्तर्गत जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले अनुदानको नाममा किसान ठग्ने, कृत्रिम अभाव सिर्जना गर्ने र मूल्यवृद्धि गराउने प्रयासलाई कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारेको छ ।
कृषि क्षेत्रमा अनुदानको मल समयमै नपुग्दा किसानहरू पहिले नै समस्यामा परिरहेका बेला यस्तो घटनाले आक्रोश थपेको छ । मल अभावका कारण खेती ढिलो हुने, उत्पादन घट्ने र अन्ततः किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने अवस्थाबीच अनुदानको मल कालोबजारीमा पर्नु गम्भीर आपराधिक कार्य भएको स्थानीय कृषकहरूको प्रतिक्रिया छ ।
स्थानीय किसानहरू भन्छन्, “हामी लाइन बसेर, फारम भरेर मल कुर्दा बिचौलियाले गोदाममा थुपारेर महँगोमा बेच्ने तयारी गर्छन् भने अनुदानको अर्थ के रह्यो ?” उनीहरूले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मल अन्य स्थानमा पनि लुकाएर राखिएको हुन सक्ने आशंका देखिएको छ । त्यसतर्फ पनि खोजी भइरहेको छ । साथै सहकारी, ढुवानी व्यवस्था र गोदाम सञ्चालनसम्मको सम्पूर्ण श्रृंखलाको भूमिकामाथि छानबिन गरिने बताइएको छ ।
यस घटनाले अनुदान वितरण प्रणालीमा देखिएको कमजोरी, अनुगमनको अभाव र मिलेमतोको आशङ्कालाई उजागर गरेको छ । समयमै कडा कदम नचालिए यस्ता घटनाले कृषि क्षेत्रलाई थप संकटमा धकेल्ने विज्ञहरूको चेतावनी छ ।
सरकारले किसानको नाममा दिने अनुदान वास्तविक किसानसम्म नपुग्ने हो भने नीतिको विश्वसनीयतामै प्रश्न उठ्ने भएकाले दोषीलाई उदाहरणीय सजाय दिनु अपरिहार्य देखिन्छ । सिन्धुलीको यो घटनाले देशभर अनुदान वितरण प्रक्रियामा पुनरावलोकनको आवश्यकता औँल्याएको छ ।