सिन्धुली,१८ माघ — सिन्धुलीको कमलामाई नगरपालिका–९ अन्तर्गत कोरुङखोला क्षेत्रमा पर्ने मदनभण्डारी राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना आइतवार बिहान करिब ११ बजेर २० मिनेटको समयमा भएको इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीले जनाएको छ ।
बर्दिबासबाट कटारीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बोलेरो पिकअप गाडी एक–आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीले जनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय मंगल मोक्तानले चलाएको ज १२ प ७२६६ नम्बरको मोटरसाइकल र कटारीबाट भिमानतर्फ आउँदै गरेको इलाम जिल्लाको देउमाई नगरपालिका–७ बस्ने
अन्दाजी ३१ वर्षीय विनोद कुमार तामाङले चलाएको प्रदेश १–०१–००१ च ७६६५ नम्बरको बोलेरो पिकअप गाडी एक आपसमा ठक्कर खाएको प्रहरीको भनाई छ । मोटरसाइकल चालक मंगल मोक्तान र मोटरसाइकलको पछाडि बर्दिबास नगरपालिका–१ बस्ने अन्दाजी ३० वर्षीय सन्दिप घिसिङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयको सहयोगमा घाइते दुवै जनालाई तत्काल उपचारका लागि जनसेवा अस्पताल बर्दिबासतर्फ पठाइएको थियो । प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था गम्भीर रहेको जनाउँदै थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल ग्वार्कोमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक राजु के.सी. खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्नुका साथै दुर्घटनामा संलग्न बोलेरो पिकअप गाडी, मोटरसाइकल र बोलेरो चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार दुर्घटनापछि राजमार्गमा सवारी आवागमन भने अवरुद्ध भएको थिएन। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीको भनाइ छ ।