सिन्धुली, १८ माघ— सिन्धुलीको भिमान चेकपोष्टबाट विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक सवारी साधनमा सवार युवकबाट शंकास्पद लागूऔषध फेला परेपछि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
शनिवार दिउँसो करिब १ बजेर २० मिनेटको समयमा, कमलामाई नगरपालिका–९ भिमानस्थित चेकपोष्टमा नियमित तथा विशेष निगरानीसहित चेकजाँच भइरहेका बेला झापाबाट काठमाडौँ जाँदै गरेको बा ५ ख ५९१५ नम्बरको हायसको ६ नम्बर सिटमा सवार काठमाडौँ महानगरपालिका–२६ गोंगबु निवासी १९ वर्षीय डेविट थापा मगर शंकास्पद देखिएपछि प्रहरीले व्यक्तिगत खानतलासी गरेको थियो ।
तलासीका क्रममा उनले लगाएको कालो रंगको कटराइज पाइन्टको दायाँ गोजीभित्र राखिएको ‘ह्याप्पीडेन्ट’ नामक डब्बाभित्र दुई वटा कालो प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको पदार्थको प्लास्टिक बाहेक शुद्ध तौल १७ दशमलव ४९० ग्राम रहेको छ ।
इलाका प्रहरी कार्यालय भिमानका अनुसार उक्त लागूऔषध तत्काल नियन्त्रणमा लिई अभियुक्तलाई आवश्यक कारबाहीका लागि कार्यालयमा ल्याइएको छ । बरामद लागूऔषधको परीक्षण, स्रोत पहिचान तथा संलग्न सञ्जालबारे अनुसन्धान भइरहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट युवक लागूऔषध ओसारपसारमा संलग्न भएको आशंका गरिएको भए पनि घटनाको पूर्ण सत्यतथ्य अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ ।
उक्त कारबाही इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबासबाट खटिएको संयुक्त टोलीले गरेको हो । प्रहरीले पछिल्लो समय पूर्व–पश्चिम राजमार्ग तथा भित्री नाकाहरूमा लागूऔषध ओसारपसार बढ्दै गएको भन्दै निगरानी कडा पारिएको जनाएको छ । यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई कानुनको दायरामा ल्याइने र समाजलाई लागूऔषधमुक्त बनाउन सुरक्षा निकाय निरन्तर सक्रिय रहने प्रहरीले स्पष्ट पारेको छ ।