सिन्धुली,१८ माघ – सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानस्थित चेकपोष्टमा प्रहरीले ठूलो परिमाणको लागुऔषध बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ । नियमित सवारी जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको सूक्ष्म चेकजाँचबाट प्रतिबन्धित इन्जेक्सनहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
शनिवार राति करिब ११ बजेर ४० मिनेटको समयमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिकसहितको संयुक्त टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबासको टोलीले सवारी साधन जाँच गरिरहेको थियो । सोही क्रममा जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको एक इभी हाईस भ्यानलाई रोकेर जाँच गर्दा उक्त सफलता हात लागेको हो ।
प्रहरीका अनुसार हाईसको पाँच नम्बर सिटमा सवार महोत्तरी जिल्लाको मठियानी नगरपालिका–८ निवासी अन्दाजी ४८ वर्षीय दीप नारायण साहको साथमा रहेको कालो रङको पछाडि बोकिने झोलामाथि शंका लागी जाँच गर्दा झोलाभित्र कालो प्लास्टिकमा पहेँलो टेपले बेरिएका तीनवटा पोका फेला परेका थिए । ती पोकाहरू खोल्दा लागुऔषधजस्तो देखिने विभिन्न प्रकारका इन्जेक्सनहरू लुकाइछिपाइ ल्याइएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
बरामद सामग्रीमा “बुप्रेनोर्फिन (Buprenorphine)” इन्जेक्सन ३०० पिस, “डायजेपाम (Diazepam)” इन्जेक्सन ३०० पिस र प्रोमेथाजिन (Promethazine) इन्जेक्सन ३०० पिस रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट ती इन्जेक्सनहरू अवैध रुपमा ओसारपसार भइरहेको आशंका गरिएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय भिमानमा राखी थप अनुसन्धान अघि बढाइएको छ । बरामद लागुऔषधको स्रोत, गन्तव्य तथा यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय लागुऔषधको ओसारपसार बढ्दो चिन्ताको विषय बनेको उल्लेख गर्दै यस्ता अवैध गतिविधि नियन्त्रणका लागि सवारी जाँच, निगरानी तथा संयुक्त अपरेसनलाई अझ कडाइका साथ निरन्तरता दिइने स्पष्ट पारेको छ । स्थानीयस्तरमा पनि नागरिकको सहयोग र सूचनाको भूमिकालाई महत्वपूर्ण मान्दै शंकास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।