शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई–६ मा एमालेको निर्वाचन परिचालन कमिटी गठन

शनिवार , माघ १७, २०८२

सिन्धुली, १७ माघ — नेकपा (एमाले) कमलामाई नगरपालिका–६ ले स्थानीय तह केन्द्रित चुनावी अभियानलाई तीव्र बनाएको छ । वडास्तरीय संगठन सुदृढीकरण र मतदाता परिचालनलाई व्यवस्थित ढंगले अघि बढाउने उद्देश्यसहित वडा कमिटीको सातौँ पूर्ण बैठक सम्पन्न भएको छ भने सोही अवसरमा निर्वाचन प्रचार–प्रसार कार्यालयको पनि औपचारिक स्थापना गरिएको छ । पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै योजनाबद्ध रूपमा अभियान अघि बढाउने संकेत दिएको छ ।

चुनावी प्रचार कार्यालयको उदघाटन एमाले सल्लाहकार परिषद् सदस्य तथा पूर्व सांसद शंकर नाथ शर्मा ले गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्न निर्देशन दिए । उनले पार्टीका नेता–कार्यकर्तालाई वडाभित्रै केन्द्रित भएर घरदैलो, टोलस्तरीय भेटघाट र संगठित परिचालनमा लाग्न आग्रह गरे । मतदातासँग प्रत्यक्ष संवाद बढाउँदै पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा एमाले सिन्धुलीका नेता खड्ग बहादुर खत्री ले सम्बोधन गर्दै कमलामाई–६ मा एमालेका उम्मेदवार जत्तिकै सक्षम र भरोसायोग्य अन्य उम्मेदवार नरहेको दाबी गरे । उनले सिन्धुलीको आशा र विश्वासको प्रतीकका रूपमा एमाले उम्मेदवार मनोज जंग थापा लाई चित्रण गर्दै उनलाई विजयी बनाउन विशेष रणनीतिसहित अगाडि बढ्न पार्टी पंक्तिलाई आग्रह गरे । देशको नीति निर्माण तहमा उल्लेखनीय योगदान दिन सक्ने क्षमता उम्मेदवारमा रहेको बताउँदै उनले प्रत्येक टोल र बस्तीमा पुगेर मतदातासँग जोडिनुपर्ने आवश्यकता औँल्याए ।

बैठकले निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले १०५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिले प्रचार–प्रसार, मतदाता सम्पर्क, संगठन व्यवस्थापन तथा समन्वयका कामलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको छ । विशेषगरी नयाँ पुस्ता र जेन–जी उमेर समूहका मतदाता तथा उनीहरूसँग जोडिएका गतिविधिलाई नजिकबाट निगरानी गर्दै चुनावी अभियानमा सक्रिय रूपमा समेट्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

एमाले कमलामाई–६ ले संगठनात्मक शक्ति विस्तार, अनुशासित परिचालन र योजनाबद्ध अभियानमार्फत निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्य लिएको नेताहरूको भनाइ छ । पार्टीले आगामी दिनमा टोल–टोल केन्द्रित कार्यक्रम, मतदाता संवाद र प्रचार अभियानलाई अझ तीव्र बनाउँदै लैजाने जनाएको छ ।

प्रतिक्रिया