काठमाडौँ,१७ माघ – नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा बारम्बार उठ्ने एउटा प्रश्न हो,नेतृत्व कति आलोचनासहिष्णु छ ? यही प्रश्न पछिल्लोपटक फेरि सतहमा आएको छ, जब पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाल लाई स्पष्टीकरणसमेत नसोधी पार्टीबाट निष्कासन गर्ने निर्णय गरे ।
पार्टी नेतृत्वको यो निर्णयलाई सुरुवातमा शक्ति प्रदर्शनका रूपमा लिइए पनि समयसँगै यसको प्रभाव उल्टो दिशातर्फ मोडिन थालेको देखिन्छ । पार्टीभित्र मात्र होइन, बाहिर आम मतदाता तहमा समेत निष्कासित नेताहरूप्रति सहानुभूति र समर्थन बढ्दै गएको संकेत देखिन थालेका छन् । राजनीतिक वृत्तमा यसलाई ‘कठोर निर्णय, कमजोर सन्देश’ का रूपमा व्याख्या गर्न थालिएको छ ।
हरिबोल गजुरेल र महेश्वर दाहाल दुवैलाई माओवादी आन्दोलनभित्र स्वच्छ छवि, सिद्धान्तनिष्ठता र संघर्षशील चरित्रका नेताका रूपमा हेरिन्छ । उनीहरूले विगत केही समयदेखि नेतृत्वमा देखिएको स्वेच्छाचारिता, संगठनभित्रको विकृति र बढ्दो व्यक्तिकेन्द्रित प्रवृत्तिमाथि सार्वजनिक रूपमै प्रश्न उठाउँदै आएका थिए । यही कारण उनीहरू नेतृत्वको निशानामा परेका हुन् भन्ने बुझाइ पार्टीभित्र व्यापक छ ।
निष्कासनको प्रत्यक्ष प्रभाव अहिले निर्वाचन राजनीतिमा देखिन थालेको छ । सिन्धुली–२ मा पार्टी जिल्ला कमिटीले ‘बस्ने मुढा’ चिन्हबाट अघि सारेका महेश्वर दाहालप्रति जनस्तरमा सहानुभूति उल्लेख्य रूपमा बढेको स्थानीयहरू बताउँछन् । पार्टी निर्णयबाट अन्यायमा परेका नेताका रूपमा दाहालप्रति देखिएको सकारात्मक धारणा चुनावी समीकरण बदल्न सक्ने सम्भावनाका रूपमा हेरिन थालेको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार आलोचनालाई दमन गर्ने शैलीले तत्काल नेतृत्वको नियन्त्रण मजबुत देखिए पनि दीर्घकालमा यसले संगठनको वैचारिक आधार कमजोर बनाउने खतरा बोकेको हुन्छ । फरक मतलाई सम्मान गर्ने संस्कार हराउँदै जाँदा कार्यकर्ता निरुत्साहित हुने र जनविश्वास खस्किने प्रक्रिया तीव्र हुने उनीहरूको ठम्याइ छ ।
यो पहिलोपटक होइन, जब सिन्धुलीजस्ता जिल्लामा स्वच्छ छवि बनाएका नेताहरू पार्टी निर्णयबाट पन्छाइएका छन् । यसअघि पनि सीपी गजुरेल, ईश्वरीप्रसाद दनहाल तथा अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष कुमार दाहालजस्ता नेताहरूलाई विभिन्न प्रक्रियाबाट अलग्याइँदा पार्टीको नैतिक विश्वसनीयतामाथि प्रश्न उठ्दै आएको थियो । ती घटनाले पार्टी र नेतृत्वबीचको दूरी बढाएको विश्लेषण गरिन्छ ।
गजुरेल र दाहालको पछिल्लो निष्कासनले नेपाली कम्युनिस्ट पार्टी मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनभित्र नेतृत्वको चरित्र, उत्तरदायित्व र आन्तरिक लोकतन्त्रको विषयलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याइदिएको छ । नेतृत्व आलोचनाभन्दा डराउने कि आलोचनाबाट सुध्रिने ? यही प्रश्नको उत्तरले माओवादी आन्दोलनको भविष्यको दिशा निर्धारण गर्ने देखिन्छ ।